‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया सम्पन्न
बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम गरि मनाएको छ ।
मिडियाले आदिवासी जनजातिहरूको सवाललाई कति प्राथमिकता दिइरहेको छ भन्ने बिषयमा केन्द्रित छलफल भएको थियो ।
फोनिजका पूर्व संघीय उपाध्यक्ष तथा झापाका पूर्वअध्यक्ष दिपिन कुमार राईले विषय प्रस्ट गर्दै, राज्यसत्ताले अझै आदिवासी जनजातिका सवाललाई पूर्ण रूपमा बुझ्न नसकेको बताए । संविधानले आदिवासी जनजातिलाई नीति निर्माण तहमा पु¥याए पनि राजनीतिक दलहरूले उनीहरूको आवाज दबाउने गरेको उनले आरोप लगाए । आदिवासी जनजातिका मुद्धा प्रभावकारी बनाउन फोनिज, नेफिन तथा जातीय संगठनबीच सहकार्य अपरिहार्य भएको उनको भनाइ थियो ।
कार्यक्रममा फोनिजका पूर्व संघीय उपाध्यक्ष कमन देवान, नेफिन झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, फोनिज झापाका पूर्वअध्यक्ष इन्द्रजीति मुखियालगायतले धारणा राखेका थिए ।
त्यस्तै, नेफिन झापाका उपाध्यक्ष केवलराम राई, पूर्वअध्यक्षहरु प्रेम घिसिङ र भरतकुमार श्रेष्ठ, नेपाल मगर संघ झापाका पूर्वअध्यक्ष जगत राना मगर, नेपाल संथाल आदिवासी उत्थान संघका केन्द्रीय महासचिव कुन्दन मुर्मु, मेचे समाज एरिया फाट केन्द्रिय सदस्य बिरेन मेचे, राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, महिला नेतृ सनम राजवंशी, व्यवसायी रमेशकुमार राजवंशी लगायतले पनि धारणा राखेका थिए ।
अन्तरक्रियामा सहभागी फोनिज, नेफिन र जातिय संगठनका नेतृत्वहरुले नेफिन र फोनिजबीचको समन्वयलाई थप सुदृढ गर्दै, संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा मिडियाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचना सुरक्षित गर्न मिडियाले आदिवासी जनजातिका आवाजलाई निरन्तर उजागर गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघका नेतृत्व र पत्रकारजन्य संघ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिका मुद्दालाई समाचारमा प्राथमिकताका साथ ल्याउने र सकारात्मक एजेन्डा निर्माणमा योगदान पुर्याउने धारणा राखेका थिए । उनीहरुले आदिवासी जनजातिका सवालमा संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा मिडियाको सक्रियतासहित एकजुट भएर लाग्ने साझा प्रतिबद्धता व्यक्त गरे ।
फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र फोनिज संघीय समिति सदस्य भूमिका फियाक लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार, पत्रकारजन्य संघ–संस्थाका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का पदाधिकारी, जातीय संगठनका नेतृत्व र सरोकारवाला गरी करिब ५० जनाको सहभागिता थियो ।
फोनिज झापाका उपाध्यक्ष तिलक योञ्जनले कार्यक्रममा स्वागत गरेका थिए भने, सचिव सन्तोष वेघाले सञ्चालन गरेका थिए ।