रविलाई राखिएको कोठामा न्यूनतम आधारभूत सुविधा छैन : मानवअधिकार आयोग
झापा । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राखेको कारागारको अनुगमन गरेको छ । सोमबार जिल्ला कारागार रुपन्देही पुगेर मानवअधिकारकर्मीको टोलीले अनुगमन गरेको हो ।
टोलीले अनुगमनका क्रममा सभापति लामिछानेलाई राखेको कोठामा आधारभूत सुविधाहरू नरहेको पाइएको बताएको छ । आयोगका प्रवक्ता डा. लिली थापाले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएको र पर्याप्त उज्यालो र हावा नभएको पाइएको बताइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने जवाफ पाएको पनि बताइन् । अनुगमनपछि कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको पनि प्रवक्ता थापाले बताइन् ।
‘हामी उहाँकै कोठामा गएर आधा घण्टा कुराकानी गर्यौं । उहाँलाई कति दिनदेखि बाहिर पनि निस्कन नदिएको अवस्था रहेछ’, थापाले भनिन्, ‘प्रशासनिक संरचना पनि साँघुरो रहेछ र सुरक्षाको कुरा पनि रहेछ ।’
उनले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको बताइन् । ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूको पनि हालत उस्तै रहेछ ।’