नेल्टा अध्यक्ष पराजुलीले बृद्धाश्रममा मनाए जन्मदिन
बिर्तामोड । नेपाल अंग्रेजी भाषा शिक्षक संगठन झापाका अध्यक्ष तथा शैक्षिक परामर्श संघ (इक्यान) झापाका कार्य समिति सदस्य प्रकाश पराजुलीले वृद्धाश्रममा जन्मोत्सव मनाएका छन् । अधिकारीले शुक्रबार आफ्नो जन्मदिन बिर्तामोड ४ स्थित परोपकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा जन्मदिन मनाएका हुन् ।
हरेक वर्ष जन्मोत्सवलाई फरक र सन्देशमुलक ढंगबाट मनाउँदै आएका पराजुलीले पछिल्लो समय ज्येष्ठ नागरिक प्रति माया र ममता हराउँदै गएकाले वृद्धाश्रममा रहेका आमा–बुबासंग खुशी साटेको प्रतिक्रिया दिए । सो अवसरमा उनले वृद्धाश्रमलाई करिब दश हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेका थिए । जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा इक्यान झापा जिल्ला समिति, नेल्टा झापा जिल्ला समिति र पराजुली परिवारको सहभागिता रहेको थियो । कार्यक्रममा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी र नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष एवम् झापाका संस्थापक अध्यक्ष धर्मेन्द्र भट्टराईले शुभकामना दिएका थिए । उनीहरुले हरेक आफ्नो जन्मोत्सवमा ज्येष्ठ नागरिक अर्थात वृद्धाश्रममा रहेका आमा–बुबाको मुहारमा पनि खुशीयाली प्रदान गरेको भन्दै पराजुलीलाई बधाईका साथै शुभकामना दिएका थिए ।