२०८३ बैशाख १८ गते , शुक्रबार
आगलागीबाट वृद्धा गम्भीर घाइते
बिर्तामोड । झापाको कन्काईमा आगलागी हुँदा एकजना वृद्धा जलेर गम्भीर घाइते भएकीछन् । आगलागीमा परेर ताप्लेजुङ घर भई कन्काई-३ सुरुङ्गामा बस्दै आएकी ८१ वर्षीया बाटुली माया दाहाल गम्भीर घाइते भएकी हुन् ।
बिहीबार बिहान अन्दाजी ७:१५ बजेको समयमा ध्रुव श्रेष्ठको तीन तले घरको बीच तलामा भाडामा बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा उनको शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तत्काल उनलाई उपचारको लागि कन्काई नगर अस्पताल लगिएकोमा थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
आगलागीबाट कोठा पूर्णरूपमा जलेर क्षति भएको र क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए ।