दीर्घसेवा सम्मान काजी र क्षेत्रीलाई
भद्रपुर । अग्रज पत्रकारद्वय नकुल काजी र गोविन्दचन्द क्षेत्री दीर्घसेवा सम्मानबाट सम्मानित भएका छन् । करिब ६ दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध उनीहरूलाई प्रेस क्लब भद्रपुरले सम्मान गरेको हो ।
क्लबको १५औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमका बीच काजीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उनलाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरे । गोविन्दचन्द क्षेत्री जिल्ला बाहिर भएकाले कार्यक्रममा अनुपस्थित रहे ।
सोही कार्यक्रमका बिच प्रेसक्लबको भवनसमेत उद्घाटन गरिएको छ । क्लबले चन्द्रगढीमा रहेको नेपाल पत्रकार महासंघको भवनमा तला थपेर आफ्नो कार्यालय स्थापना गरेको हो । भवन निर्माणमा सहयोग गर्ने दुई दर्जन बढी दाताहरुलाई समेत प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।