सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बन्द गर्न जनप्रतिनिधीलाई बिर्तामोडको अनुरोध
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आफ्ना जनप्रतिनिधीलाई व्यक्तिगत अफवाह फैल्याउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न अनुरोध गरेको छ । सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण नगर उपप्रमुख र वडाध्यक्ष बिच नगरपालिकामै तँ तँ र म म परेपछि पालिकाले यस्तो आग्रह गरेको हो ।
कार्यपालिका बैठकमा सहभागिताको बिषयलाई लिएर एक जना व्यक्तिले फेसबुकमा लेखेको स्टाटसमा प्रतिक्रिया जनाउँदै बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नागरिकता बेचुवा भन्दै वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीलाई लक्षित प्रतिक्रिया लेखेपछि आक्रोशित वडाध्यक्ष कार्की र उपप्रमुख संग्रौलाबिच तँ तँ र म म परेको थियो । उपप्रमुख संग्रौलाको कार्यकक्षमा बुधबार उनीहरुबिच भनाभन भएको हो ।
सो घटनापछि बिहीबार बसेको कार्यपालिका बैठकले उपप्रमुख संग्रौलाको पक्षमा विज्ञप्ति निकालेर उक्त कार्यको भत्र्सना गर्दै खेद व्यक्त गरेको छ ।
साथै बैठकले जनप्रतिनिधीहरुलाई व्यक्तिगत अफवाह फैल्याउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न र आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । साथै व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापबाट निवारण गर्नसमेत अनुरोध गरेको छ ।
