स्व. पतिको जन्म जयन्तीको अवसरमा अपाङ्गता भएका परिवारलाई सहयोग
बिर्तामोड । पर्वत जिल्ला कुस्मा स्थायी घर भई लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका एक परिवारले आफ्ना दिवंगत भएका सदस्यको जन्म जयन्तीको अवसरमा बिर्तामोडस्थित एक अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेका छन् ।
यूके निवासी दीपा महरा गौतमले आफ्ना स्वर्गीय पति बिज्ञान गौतम (उदय) को जन्मजयन्तीको अवसरमा बिर्तामोड–५ अग्रसेन भवन पछाडी सुकुम्वासी टोलमा बस्दै आएका माया कुंवरका ३५ वर्षीय छोरा रेवत र २९ वर्षीया छोरी कोपिलालाई नगद १८ हजार २५० रुपैँया सहयोग गरेको गोर्खा फाउण्डेशनका अध्यक्ष वीरु दर्नालले जानकारी दिए । गोर्खा फाउण्डेशनको सहजीकरणमा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।
दुवै खुट्टा नचल्ने भएका कारण रेवत र कोपिला हिड्डुल गर्न नसक्ने अवस्थामा छन् । उनीहरुको नागरिकता नहुँदा राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षाभत्ता समेत पाउन सकेका छैनन् ।
स्वर्गीय गौतमलाई सन् २०२३ देखि क्यान्सर रोग लागेपछि गत वर्षको ७ जुलाईमा उपचारको क्रममा निधन भएको थियो ।
टोलका अग्रज नन्दलाल पोखरेलले नगद हस्तान्तरण गरेका थिए । सो अवसरमा कमल पाठक, पर्शुराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।