हाम्रो नेपालद्वारा १० कर्मचारीलाई सम्मान
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले १० जना कर्मचारीलाई सम्मान गरेको छ । संस्थाले १३औँ वार्षिकोत्सवको अवसरमा १० बर्षभन्दा बढी समयदेखि संस्थामा कार्यरत कर्मचारीलाई नगदसहित सम्मान गरेको हो ।
बुधबार बिर्तामोडमा आयोजित कार्यक्रमका बिच संस्थाले प्रेम प्रसाद ओली, धनकुमार राजवंशी, देवी माया बिष्ट, अम्बिका धौराली, याम नारायण अधिकारी, बालकुमारी खतिवडा, अनिता शिवाकोटी, बालिका खनाल, सुजन बुढाथोकी र खगेन्द्र कार्कीलाई सम्मान गरेको हो । उनीहरुलाई संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल, उपाध्यक्ष राजेन्द्र गौतमलगायतले खदा लगाएर सम्मान गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा हाम्रो नेपाल साकोसले गत बर्षको एसईईमा शेयर सदस्यको परिवारमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रतर्फ सागर राउत (४ जीपीए) र छात्रातर्फ सजल तामाङ (३.९५ जीपीए) लाई नगद ५ हजारसहित सम्मान गरिएको थियो । उनीहरु दुवै जनाले गौरीगञ्ज ३ स्थित ज्ञानकुञ्ज एकेडेमीबाट एसईई दिएका थिए ।
सोहि अवसरमा संस्थाका अध्यक्ष दंगालले संस्थाको १३औँ बार्षिकोत्सवको लोगो सार्वजनिक गर्नुका साथै अपग्रेडेड मोबाइल एप सार्वजनिक गरेका थिए ।
कार्यक्रममा विभिन्न सेवा केन्द्रका संयोजक तथा सदस्यहरुलाई सपथ गराइएको थियो ।
२०६९ साल साउन १४ गते ३७ जना शेयर सदस्यहरुले १८ लाख ५० हजार रुपैँया शेयर पूँजी संकलन गरि शुरु भएको हाम्रो नेपालमा हाल ३९११० जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो ।
इलाम, झापा र मोरङलाई कार्यक्षेत्र बनाएर ३१ वटा सेवा केन्द्रमार्फत २५६ कर्मचारीले सेवा प्रवाह गरिरहेको संस्थाका कार्यकारी प्रमुख सरोज दाहालले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक बर्षमा हाम्रो नेपालले २ अर्ब ४० करोडको कारोबार गरेको छ । संस्थाले १ अर्ब ७२ करोड बचत संकलन गरेको र १ अर्ब ९५ करोड ऋण लगानी गरेको दाहालले बताए । सो कारोबारबाट संस्थाले ९२ लाख सञ्चालन नाफा आर्जन गरेको संस्थाले जनाएको छ । हाल संस्थाको नाममा ४ कठ्ठा १ धुर जमिनसमेत रहेको छ ।
कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेका थिए भने सचिव विश्वेश्वर प्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।