२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा करेन्ट लागेर मृत्यु हुने क्रम बढ्यो

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १४ गते , बुधबार
झापामा करेन्ट लागेर मृत्यु हुने क्रम बढ्यो

झापा । झापामा करेन्ट लागेर मृत्यु हुने क्रम बढेको छ ।  १५ दिनको समयमा झापामा करेन्ट लागेर चारजनाको मृत्यु भएको छ । यसले करेन्ट लागेर मृत्यु हुनेको संख्या क्रमश बढ्दो देखाउँछ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सीमावर्ती कचनकवल गाउँपालिका-७ सितागढी टोलका ५० वर्षीय अरूण राजवंशीको सोमबारराति करेन्ट लागेर मृत्यु भएको छ । 
सिँचाइका लागि जडान गरिएको मोटरमा तार जोडने क्रममा  राजवंशीलाई करेन्ट लागेको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी घरमा एक्लै बस्दै आएका थिए । 
साउन ७ गते गौरादह नगरपालिका-७ गछियामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको थियोे । गाईलाई घाँस (कुटि) काट्न प्रयोग गरिएको मेसिनबाट करेन्ट लाग्दा उप्रेतीको घटनास्थलमानै मृत्यु भएको थियो ।
साउन २ गते बिर्तामोड-२ पश्चिम बस स्टेण्ड नजिकै विद्युत जडानको काम गर्दैगर्दा अर्जुनधारा नगरपालिका-४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डेको करेन्ट लागेर मृत्यु भएको थियो । पाण्डे विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रमा कार्यरत थिए । 
असार ३० गते आफ्नो निर्माणाधीन घरमा पानी लगाउन मोटर जोड्ने क्रममा करेन्ट लागेर  बिर्तामोड-१० का ५३ वर्षीय पुष्प पोखरेलको मृत्यु भएको थियोे ।  उनको परिवार पाँचथरमा छ ।
उपलब्ध रेकर्ड अनुसार कचनकवलमा मात्रै  एक वर्षमा करेन्ट लागेर तीन जनाले ज्यान गुमाएका छन् । बढ्दो लापरबाही, असावधानी र अव्यवस्थित विद्युत जडान घटनाको प्रमुख कारण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार