२०८३ बैशाख १८ गते , शुक्रबार
पैदलयात्रीलाई ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा, मृतकको पहिचान भने अझै खुलेन
बिर्तामोड । झापाको चारआली–बुधबारे सडकखण्डस्थित सहरेडाँगीमा आइतबार साँझ पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी प्रहरीको सम्पर्कमा आएको छ । मे १ च ६१३१ नम्बरको उक्त स्करपियोका चालक हल्दिबारी १ बस्ने ४८ बर्षीय गजेन्द्रबहादुर विष्ट प्रहरीको सम्पर्कमा आएका हुन् ।
साँझ ७:३० बजे पैदलयात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको हालसम्म पहिचान खुलेको छैन । उनी मागिखाँदै हिड्ने गरेको स्थानीयले बताएका छन् ।
पैदलयात्रीलाई ठक्कर दिएर तत्काल फरार भएका चालक र गाडी राति १०:३० बजे इलाका प्रहरी कार्यालय अनारमनीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।