डीडीसीसँग १ अर्बको धुलो दुध र मखन स्टक, म्याद सकिन ४ महिना बाँकी
झापा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सँग करिब १ अर्ब मुल्यको धुलो दुध र मखन स्टक रहेको छ । डीडीसीसँग ९ सय टन धुलो दूध र ७ सय ५० टन मखन नबिकेर स्टक रहेको हो ।
डीडीसीले २५ जेठ २०८२ मा दुग्धजन्य पदार्थ (धुलो दूध र मखन) बेच्न सूचना निकाल्यो । असार २०८१ देखि नबिकेर म्याद गुज्रिन लागेपछि ३ सय टन धुलो दूध र ३ सय टन मखनको मूल्य समायोजन गरी बिक्री गर्ने भन्दै डीडीसीले सूचना निकालेकोे थियो ।
१ अर्ब रुपैयाँभन्दा बढीको दुग्धजन्य पदार्थ म्याद सकिने अवस्थामा पुगेपछि बिक्रीका लागि डीडीसीले सूचना निकालेको थियो । तर, डीडीसीको बिक्री प्रयास सफल भएन, दूध किन्न कसैले चासो दिएनन् ।
डीडीसीका एक अधिकारीका अनुसार डीडीसीमा रहेको धेरै परिमाणको धूलो दूध र मखनको उपभोग्य मिति अब बढीमा चारदेखि पाँच महिनामात्रै बाँकी छ । उपभोग्य मिति नै गुज्रिन लागिसकेको दुग्धजन्य पदार्थ बिक्री हुने छाँट छैन ।
‘दुग्धजन्य पदार्थ बिक्री नहुँदा मौज्दात बढी भएर सबै गोदाम भरिभराउ छन्,’ डीडीसीका ती अधिकारीले भने, ‘भाडामा लिइएका गोदाम समेत भरिँदा उत्पादन कहाँ राख्ने समस्या उत्पन्न भएको छ ।’
यसो त डीडीसीले धुलो दूध र मखन बेच्न पटक–पटक सूचना निकालिरहेको हुन्छ । यसबाहेक झोल दूध, दही, घिउ लगायत दुग्ध पदार्थ बिक्रीका लागि पनि सूचना जारी भइरहन्छ । तर, बिक्री नै गर्न नसकेको गुनासो संस्थानले गरिरहन्छ ।