पाँचथरमा सेप्टी ट्याङ्कीको सर्टिङ्ग खोल्न छिरेका कामदार बेहोस
झापा । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, घुर्बिसे पञ्चमी बजार छेउमा निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
बुधवार दिउँसो करिब ४ बजे सेप्टी ट्याङ्कीभित्रको सर्टिङ्ग खोल्न गएका बेला अक्सिजनको कमीका कारण चारै जना बेहोस भएका थिए।
बेहोस हुनेमा वर्ष ३५ का रतन चेम्जोङ, ४० का विरू चेम्जोङ, २४ का भिष्म चेम्जोङ र ३० वर्षीय सन्तोष चेम्जोङ छन्। सन्तोषको अवस्था सामान्य रहेको भए पनि अन्य तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि झापा लगिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरी चौकी फाक्तेपको टोली तत्काल घटनास्थल पुगेका थिए। स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्कीको साइड फोरेर उद्धार गरिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज शेर बहादुर राईले जानकारी दिए।
उनीहरू घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनसँगै बनाइएको सेप्टी ट्याङ्कीमा काम गरिरहेका थिए।