झापा अदालतको मुद्दा फर्स्यौटमा वृद्धि, न्यायाधीश खड्का सम्मानित
बिर्तामोड । झापा जिल्ला अदालतमा मुद्दा फर्स्यौटमा वृद्धि भएको छ । गत आर्थिक बर्षको तुलानामा आर्थिक बर्ष २०८१/८२ मा मुद्दा फर्स्यौट संख्यामा वृद्धि भएको हो । गत आर्थिक बर्षको तुलानामा आर्थिक बर्ष २०८१/८२ मा १३१४ थान बढी मुद्दा फर्स्यौट भएको हो ।
बुधबार एक समीक्षा कार्यक्रम आयोजना गरि अदालतले सम्पादन गरेका कार्यको बारेमा जानकारी गराएको हो । आर्थिक बर्ष २०८०/८१ मा ३६६५ थान मुद्दा फर्स्यौट भएकोमा यस आर्थिक वर्षमा ४९४९ थान मुद्दा फर्स्यौट भएको झापा जिल्ला अदालतका सुचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । आव २०८१/८२ मा ६५ प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखिएकोमा ६०.४९ प्रतिशत फर्स्यौट भई लक्ष्यको अनुपातमा ९४.६१ प्रतिशत फर्स्यौट भएको उनले जानकारी दिए ।
अघिल्लो बर्षको जिम्मेवारी सरि आएका ३५५० र यस बर्ष नयाँ दर्ता भएका ४६३१ गरी कुल ८१८१ मुद्दा मध्ये ४९४९ थान मुद्दा फर्स्यौट भएको छ भने अब ३२३२ थान मुद्दा फर्स्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
म्याद तामेली, मुद्दा ब्यबस्थापन लगायत प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फर्स्यौटमा तीब्रता आएको प्रमुख न्यायाधीश उमेश प्रसाद लुईटेलले बताए । छिटो छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने लक्ष्यका साथ न्यायपालिकाको पाँचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ । झापा जिल्ला अदालतले फरक मुद्दा ब्यबस्थापन अन्तर्गत सरल, सामान्य र बिषेश मार्ग समुहका मुद्दालाई निर्धारित अवधिमा फर्स्यौट गर्ने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालत प्रति जन आस्था अभिवृद्धि गर्ने कार्यलाई प्रथमिकतामा राखेको हुँदा सरोकारवालाहरुको समन्वय र सहयोगको अदालतले अपेक्षा लिएको प्रमुख न्यायाधीश लुईटेलले बताए ।
सोही कार्यक्रमको अवसरमा यस आर्थिक वर्षमा झापा जिल्ला अदालतमा बढी मुद्दा फर्स्यौट गरी बक्यौता मुद्दा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनु हुन न्यायाधीश तेज बहादुर खड्कालाई अदालतले सम्मान समेत गरेको थियो ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा भएको बार्षिक प्रगति समिक्षा कार्यकममा न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवाल, झापा बार अध्यक्ष बसन्त नेपाल, बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता हेमकला कट्टेल आचार्य, अदालतका तहसीलदार उमेश सापकोटा, शाखा अधिकृत लगायत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखाअधिकृत बस्नेतले गरेका थिए ।