कांग्रेस नेतृत्वको उत्तरदायित्व र गहक सुझाव
कांग्रेसलाई ‘कांग्रेस’ बनाउन के गर्ने ? कांग्रसीहरुका लागि यो जटिल प्रश्न हो । उत्तर आआफ्नै होलान् र हुनसक्छन् । सिद्धान्त ‘फिक्स’ हुन्छ । सिद्धान्त बाहेक कुनै कुरा फिक्स हुन्न । तर, त्यही सिद्धान्तलाई आफू अनुकुल व्याख्या गर्नु मानवीय गुण र चरित्र हो । त्यो चरित्र हरेक कांग्रेसको मात्र होइन, प्रत्येक मानिसमा हुन्छ । बहस कांग्रेसलाई कसरी कांग्रेस बनाउने भन्ने हो, अरु बहस थप बहसकै विषय र क्षेत्र हुन् ।
कांग्रेसलाई कांग्रेस बनाउन नयाँ कांग्रेसीको जन्म जरुरी छ । चार दशक यता कांग्रेसमा नयाँ कांग्रेसीको जन्म भएको छैन । २०४६ सालदेखि ०४८ साल वरपर धेरै कांग्रेसीको जन्म भयो । अघिल्लो पुस्ताको जग र नवकांग्रेसीको बलमा कांग्रेसले प्रचण्ड बहुमतसहित सरकार बनायो । पार्टी पटकपटक सत्तामा पुग्यो । तर, न्यून संख्याका कांग्रेसी मन्त्री बने ।
२०६२/६३ मा आन्दोलनको माहोल बन्यो, देशमा आन्दोलन उत्सर्गमा पुग्यो । व्यवस्था परिवर्तन भयो । तर, यो आन्दोलनमा नयाँ कांग्रेसी जन्मेनन् । विश्वप्रकाश शर्मा, गगन थापा ०४६ तिरका कांग्रेसी ‘बीज’ हुन् । जो २०६२/६३ मा अंकुरण मात्रै भएनन्, जनजनम छाए । निरन्तर झागिए । फैलदो स्वरुप र आकार – प्रकार लिए ।
चन्द्र भण्डारी, धनराज गुरुङहरुको उदय ०४६ साल अघिनै भइसकेको थियो । उनीहरू झाँगिन चाहे । तर क्षमता जसरी सकिरहेका छैनन् । भण्डारीलाई त नेपाली कांग्रेसमा टक्स्याएर राक्ने नकाम भएको छ । गुरुङ आफैं लय गुमाउने लयमा हुनुहुन्छ । प्रदीप पौडेल, जीवन परियार, भूपेन्द्रजंग शाही, नयनसिंह महरहरु शर्मा, थापाकै सन्निकट समयमा जन्मिएका हुन् । उदाउन ढिलोचाँडो भएको मात्रै हो ।
एकाध छोडेर ६२/६३ पछि गणना गर्न लायक कांग्रेसीको जन्म भएको छैन । गोविन्द भट्टराई, गुरुराज घिमिरेहरुको नाम गुमनामकै लाइनमा मिलान गरिएको छ । उनीहरू पार्श्व ध्वनी जस्तै छन् । अनि कांग्रेस कसरी बन्छ कांग्रेस ?
अहिले जो कांग्रेस हुँ भन्छ उ तस्वीर, आवरण कांग्रेस हो, कांग्रेसी होइन । अहिलेको कांग्रेस को हो त ! यो प्रश्नको खास जवाफ आउन्न । केवल आउँछ ‘म कांग्रेस हुँ’ । यो जवाफले कांग्रेस चल्दैन । कांग्रेस चल्न कांग्रेसी चाहिन्छ । कांग्रेस चलाउन अर्बपतिहरु छिरे । शैक्षिक माफिया र ठेकेदार, यदाकदा बैकका कारिन्दाहरु छिरे । अरुहरु छिरे । उनीहरूले कांग्रेसी ‘जिन’ लाई गाली मात्र होइन सत्तोसराप गरे ।
भक्तिगान, द्रव्यदान, गणेश प्रदक्षिणा, चरण स्पर्श वा अरु त्यस्तै केही गरेर संसदीय र सांगठनिक फाँटमा हालिमुहाली मच्चाए । बेहिसाब उत्पात र उधुम मच्चाउनेहरू कांग्रेस हुन्, कहिल्यै कांग्रेसी बन्न सक्दैनन् ।
कांग्रेस थरिथरिका छन्, कोही होटल, कोही बोटल । कोही पानी कांग्रेस छन्, कोही धनी कांग्रेस । कोही वरन कांग्रेस, कोही आवरण कांग्रेस । ‘बनी’ कांग्रेसहरुको पार्टीमा हालिमुहाली छ । कांग्रेसीको सुगन्ध छैन, कांग्रेसको गन्ध छ । बाउ कांग्रेस, छोरा कांग्रेस, साला कांग्रेस, साली कांग्रेस, साथी कांग्रेस, माथि कांग्रेस, दायाँ कांग्रेस , बायाँ कांग्रेस । यो, हो अहिलेको कांग्रेसको चित्र । चरि । चरित्र के ?
धर्म ग्रन्थहरुमा उहिले, कहिले व्याख्या गरिएको नन्दीबिरिङ्गी जस्तो छ, कांग्रेस । कांग्रेसी छैनन्, थरिथरी कांग्रेस छन् । कांग्रेसले मात्र कांग्रेस बन्छ । नेपाली कांग्रेस बन्दैन, नेपाली कांग्रेस बन्न कांग्रेसी चाहिन्छ । साँच्चै कांग्रेस बनाउने हो भने प्रत्येकले कांग्रेसी बन्न सक्नुपर्छ । हरेकलाई कांग्रेस बनाउन सक्नुपर्छ । अधिकलाई कांग्रेसी बनाउन अपरिहार्य छ, कांग्रेस होइन ।
कांग्रेसी हुन चर्चा होइन, चरित्र चाहिन्छ । आफूलाई कांग्रेस दाबी गर्ने कतिमा कांग्रेसी चरित्र छ, यो बहसको विषय हो । कांग्रेसमा केही दशकदेखि देखिएको दृश्य झन् प्रगाढ बन्दै गएको छ । स्वागतमा मरिहत्ते गर्ने, खदा ओडाउने, माला पहिर्याउने, हिप मर्काउँदै कुममा कुम जोडेर हिँड्ने ।
साजसज्जामा क्लिक, क्लिक र क्लिक पार्ने, त्यतिले नपुगे सेल्फी सवारी । सामाजिक सञ्जालमा तिनै दृश्यहरु पोष्ट्याएर भ्याए जतिलाई ट्याग हान्ने । वाउ ! कांग्रेस, हाइ ! कांग्रेस । टिकटक, स्टा, एक्स, फेसबुक, ह्वाटसेप, म्यासेन्जर कहिँ कतै खाली हुन्न । वाउ ! नवीन कांग्रेस ।
कांग्रेस यतिमा सीमित छैन । कांग्रेसको कर्म असीमित छ । सुन्ने, बुझ्ने समय छैन । यसो कसो गर्यो, एक दुई स्न्याप हान्यो र हान्नियो । यति गरेपछि पद र अवसर सुरक्षित छ । हजुर ! चिल्लो घस्यो, पड्कायो पद । यही हो, कांग्रेसको नवीन शैली र प्रगतिको देखिने मापन । कुनै कार्यक्रममा नवीन मानिस देखिन्न । उहीँ पुरानो र हिजोकै अनुहार । असन्तुष्टि पनि त्यही – कांग्रेस बिग्रियो, सकियो । नेताले केही गरेनन् । यसरी बन्छ कांग्रेस ? अवश्य बन्दैन ।
कांग्रेस बनाउन राजनीतिक धर्ममा बसेर कर्म गर्नुपर्छ । सर्म लाग्ने कर्मले कांग्रेस बन्दैन, लुताउँछ, लर्खराउँछ, धर्मराउँछ । कांग्रेस बनाउन जन होइन, भिजन चाहिन्छ । दृष्टिदोष होइन, दृष्टिकोण चाहिन्छ । जोखाना होइन, योजना चाहिन्छ । खाना होइन, कर्मको कारखाना चाहिन्छ । शंका होइन, संकल्प चाहिन्छ । रुढता होइन, दृढता चाहिन्छ । कांग्रेस टिप्पणीले बन्दैन, टिप्पणीले कांग्रेस कमजोर बन्छ ।
कांग्रेस बनाउन टार्गेट टिम चाहिन्छ । त्यो टिम भनेकै २० देखि ४० वर्ष उमेर समूहको टिम हो । कांग्रेसमा त्यो टिम कहाँ छ ? छैन । कर्मको नाममा कलंकको टीका लगाएर कांग्रेस बन्दैन । कांग्रेस बनेकाबाट पनि कांग्रेस बन्दैन । कांग्रेस बनाउन कर्मशील कांग्रेसी चाहिन्छ ।
यावत बेथिति बीच कांग्रेसमा एउटा थिति छ । त्यो निक्कै सुन्दर छ । र, अरुहरुका लागि पनि अनुकरणीय । नेपाली कांग्रेसले पार्टी सभापति चुन्दा उच्चतम लोकतान्त्रिक विधि अवलम्बन गर्छ। विभिन्न चरण पार गर्दै छानिएका प्रतिनिधिले सभापतिका लागि मत जाहेर गर्छन् । मत त्यसरी जाहेर गरिन्छ, जसको विधि ५१ प्रतिसतको अवधारणा हो । सभापति बन्न ५१ प्रतिशत मत ल्याउनै पर्छ । ५० प्रतिशत मत ल्याउने व्यक्ति कांग्रेसको सभापति बन्दैन । यो विधि नराम्रो होइन ।
यद्यपि, यसमा जरुर सुधार आवश्यक छ । यसलाई अझै फराकिलो बनाउन सक्नुपर्छ । प्रत्यक्ष मत जाहेर गर्न सबै क्रियाशील सदस्यलाई मताअधिकारको अधिकार दिइयो भने धेरै प्रकारका विथितिकोन्यूनीकरण हुन्छ । जसले मैले छानेको सभापति हो भन्ने भावनाको विकास गरी सकारात्मक सन्देश प्रवाह गर्छ । जो कांग्रेसलाई कांग्रेस बनाउने कडी बन्न सक्छ । हिम्मत गरेर यो गर्न सक्ने हो भने कांग्रेसलाई कांग्रेस सम्भव छ ।
कांग्रेसले अर्को काम नगरी सुखै छैन । त्यो भनेको कांग्रेसी मतको खोजी र संरक्षण हो। जबसम्म कांग्रेसले आफ्नो ध्यान त्यता खिच्दैन, तबसम्म कांग्रेस कांग्रेस बन्दैन । नेपाली कांग्रेसले ७९ को आमनिर्वाचनमा समानुपातिक तर्फ २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेको हो । यो पार्टीले पाएको मत हो । यो मत अहिले कांग्रेस भित्र सुरक्षित छ ? छ भने त्यो उपलब्धी हो । तर, यो थाहा पाउन आमनिर्वाचन नै पर्खनु पर्छ । त्यसो भए के गर्ने त अब कांग्रेसले ? त्यो भनेको खोजी र संरक्षण नै हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रेकर्ड अनुसार ८ लाख ८२ हजार ८१६ क्रियाशील सदस्य थिए । १५ औं महाधिवेशनका लागि ८ लाख ७० हजार ७८० क्रियाशील सदस्यता फारम जिल्ला पठाएको तथ्यांक छ । यो संख्या १४ औं महाधिवेशनको भन्दा १२ हजारले कम हो । यद्यपि, कांग्रेस १४ औं अधिवेशनमा भन्दा बढी नै क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य र योजनामा छ भन्ने स्पष्ट छ । जो स्वभाविक हो ।
महाधिवेशनको अघोषित संघार र पार्टी शाख जोगाउने कहरमा रहेको कांग्रेसलाई कांग्रेस बनाउन नेतृत्वले आमनिर्वाचनमा पार्टीले पाएको मतको खोजी गर्न सक्नु पर्छ । खोजेले मात्रै हुँदैन, संरक्षण गर्न जरुरी छ । कांग्रेसी बिर्सेर नेपाली कांग्रेस अहिलेको आकारमा रहन असम्भव छ, नेतृत्वले हेक्कामा राख्नै पर्छ ।
क्रियाशील सदस्य बाहेक आमनिर्वाचनमा पार्टीले पाएको १७ लाख ६० हजार ४८० मत कांग्रेसी मत हो । यो कांग्रेसी मत कांग्रेसको त्राण र प्राण हो । यही मत खोज्न र जोगाउन सक्यो भने कांग्रेस नेतृत्वले नवीन कांग्रेस बनाउन नसके पनि नेपाली कांग्रेस जोगाउन चाहिँ सक्छ । नत्र नेपाली कांग्रेसको नेतृत्व कांग्रेसी बिर्सेर कांग्रेसकै सती जाने लयबाट फर्कन सक्दैन ।