२०८३ बैशाख २८ गते , सोमबार

एसईईको नतिजा प्रकाशनको तयारी, राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २८ गते , सोमबार
एसईईको नतिजा प्रकाशनको तयारी, राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

झापा । एसईईको नतिजा प्रकाशनको तयारीका लागि सोमबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । प्राविधिक रूपमा कुनै त्रुटि नभेटिए आजै नतिजा प्रकाशित गरिने बोर्डका पदाधिकारीहरूले जनाएका छन् ।
त्रुटि भेटिएर सच्याउन समय लागे ढिलोमा मंगलबारसम्म नतिजा प्रकाशित गरिने उनीहरूको भनाइ छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको तयारी बुझ्न बैठक बस्न लागेको र बोर्ड बैठकले नै नतिजा प्रकाशन कहिले गर्ने निर्णय लिने बताए । बैठकका लागि शिक्षा सचिव चुडामणि पौडेल सिंहदरबारबाट बोर्डको कार्यालय सानोठिमी पुगिसकेका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेललाई सम्भव भएसम्म आजै नभए भोलिसम्म नतिजा सार्वजनिक हुने जानकारी बोर्डका अधिकारीहरूले दिएको उनको सचिवालयले जनाएको छ । ‘सकभर नतिजा आजै आउने कुरा छ नभए भोलिसम्म लाग्छ होला भन्ने जानकारी आएको छ,’ मन्त्रीनिकट स्रोतले भन्यो ।
कर्मचारीले नतिजा प्रकाशनको तयारी गर्ने र त्यसको जानकारी बोर्डका सदस्यहरूले लिएपछि नतिजा प्रकाशनको निर्णय हुने व्यवस्था छ । शिक्षा सचिव, पाठयक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय र अन्य विज्ञबाट पनि मनोनीत गरी बोर्डको गठन गरिएको हुन्छ । ‘नतिजा प्रकाशन तयारीको बैठक बस्दै छौं । सबै तयारी ठीकठाक भेटिए आजै नतिजा आउने सम्भावना धेरै छ । नभए भोलिसम्म सार्वजनिक गर्ने कुरा छ,’ बोर्डका एक सदस्यले भने । 
सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने घोषणा गरेको थियो । चैत २९ गते एसईईको परीक्षा सकिएको थियो । चाँडो नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको थियो ।
५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्  । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

सम्बन्धित समाचार