२०८३ बैशाख १८ गते , शुक्रबार

देश बनाउन राजनीतिलाई सङ्ल्याउन जरुरी छ : महामन्त्री शर्मा

sajilo news
परिवेश मिडिया
२०८२ असार ३१ गते , मंगलबार
देश बनाउन राजनीतिलाई सङ्ल्याउन जरुरी छ : महामन्त्री शर्मा

बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सतीले सरापेको भनेर गाली गर्दैमा र  खुट्टा पसारेर बस्दैमा देश नबन्ने बताएका छन् । उनले नेपाल बुद्धको देश र शान्ति भूमि भएको स्पष्ट समेत पारे ।
'यो सतीको सराप परेको नभई बुद्धको देश हो,' गृह जिल्ला झापाको बुद्धशान्तिमा सोमबार आयोजित धनीपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'हामी र हाम्रै पालामा बन्छ भन्ने सकारात्मक सोचका साथ सत्कर्ममा जुटे देश अवश्य बन्छ ।' नेपाल विश्वकै सुन्दर र अनुपम मुलुक भएको उनको भनाइ छ ।
'देश बनाउन राजनीतिलाई सङ्ल्याउन जरुरी छ, केही नगरी सराप्दै बस्दा देश बन्दैन,' उनले भने, 'केही भएन र भएको छैन भन्ने सोच बदल्नु पर्छ, बन्दैन भन्ने निराशा त्याग्नु पर्छ, देश बन्छ  ।'  महामन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै देश समृद्ध बनाउने उद्घोष गरे । देश बन्छ, बनाउन सकिन्छ भन्ने मान्यताका साथ अघि बढ्न उनले सबैलाई आग्रह समेत गरे । 
'बाटो आयो ? आयो, विद्युत आयो ? आयो, पानी आयो ? आयो, सिंचाइ भयो ? हुँदैछ, टेलिफोन आयो ? आयो,  सोध्दा यही जवाफ आउँछ, हामी सबैले भन्ने यही हो,' उनले भने, 'आउँदैछ, हुँदैछ भने देश कसरी बन्दैन ? ढिलो भएको मात्रै हो, ढुक्क हुनुस्, देश अवश्य बन्छ ।' प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल वा अरु कोही नेतालाई गाली गर्दैमा देश नबन्ने उनको दाबी छ ।  राजनीतिक दलका नेतालाई गाली नगर्न उच्च राजनीतिक संस्कार प्रदर्शित गर्न उनको सुझाव छ ।
भूमिहीनले धनीपुर्जा पाउनु खुसीको कुरा भएपनि उमेरको उत्तरार्धमा मात्र धनीपुर्जा दिन सकिएकोमा दु:ख लागेको उनले सुनाए । 'खुसी मात्र छैन, पीडा पनि छ , काम गर्न ढिला भयो, 'शर्माले भने,  अस्थिरता र अन्यौलले काम गर्न ढिलो  भयो, समस्या भयो, ढाड 'नसकिने गरि करको व्यवस्थापन गर्न सकियो, यो चाहिँ राम्रो भयो ।' करको विषय व्यवस्थापनमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले निर्वाह गरेको भूमिकाको उनले खुलेर प्रशंसा गरे ।
महामन्त्री शर्माले बुद्धशान्ति गाउँपालिका-४ जुनेलीबस्तीका ८६ वर्षीय पुन्य सुवेदी,  ८५ वर्षीया कौशिला अधिकारी, ८३ वर्षीया रत्न मावो लिम्बु,  ७९ वर्षीया चेतकुमारी पौडेल,  ७६ वर्षीय वेदनिधी तिरुवा, ७६ वर्षीया बुद्धिमति लिम्बु  र ५६ वर्षीया विष्णुमाया कुमाललाई धनीपुर्जा हस्तान्तरण गरे ।  झापा-१ का सांसदसमेत रहेका शर्माले हिजो आफूले बोलेको र आज काम आफैं बोल्न थालेको उल्लेख गरे ।
बुद्धशान्तिका चारवटा वडा शर्माको निर्वाचन क्षेत्र झापा १ मा पर्छ । बुद्धशान्ति ४, ५, ६ र ७  झापा १ मा पर्ने वडा हुन् । यी वडामा भूमिहीनको समस्या जटिल छ ।  बुद्धशान्तिमा मात्रै  छ हजार दुई सय परिवार भूमिहीन छन् । सोमबार सो वडाका १९५ परिवारलाई धनीपुर्जा वितरण गरिएको छ ।
पहिलो चरणमा सोमबार २१८ परिवारलाई धनीपुर्जा वितरण गर्ने भनिएपनि राजस्व र लाभग्राहीको हस्ताक्षरका कारण लक्ष्य अनुरुप काम गर्न नसकिएको भूमि समस्या समाधान आयोग झापा सदस्य चक्र शेर्माले बताए ।

सम्बन्धित समाचार