असार सकिनै लाग्दा झापामा आधामात्र धान रोपाइँ
बिर्तामोड । झापामा हालसम्म ४१.६७ प्रतिशतमात्र धान रोपाइँ सम्पन्न भएको छ । असार सकिनै लाग्दापनि पानी नपरेका कारण उल्लेख्य रोपाइँ हुन नसकेको हो ।
पर्याप्त वर्षा नभएका कारण असार महिना सकिन लाग्दा समेत झापामा आधा रोपाइँ पनि हुन सकेको छैन ।
पर्याप्त रुपमा वर्षा नभएका कारण किसानहरुले रोपाइँ गर्न नसकिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए ।
मोटर प्रयोग गरी केही किसानहरुले रोपाइँ गरेपनि आकाशे पानीको भरमा रहेका किसानहरुको खेत बाँझै रहेको छ । एक लाख ६० हजार छ सय हेक्टर क्षेत्रफलमा फैलिएको झापामा खेतीयोग्य जमिन ९८ हजार सात सय १६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९.१८ हेक्टरमा धान खेती हुने गरेको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन् ।
झापामा ५० दशमलव ५३ प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ भने बाँकीमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ ।