आज हरिशयनी एकादशी अर्थात तुलसीको बिरुवा रोप्ने दिन
झापा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।
आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
‘हे जगदीश्वर, हरिशयनी एकादशीमा हजुरले शेषशय्यामा शयन आरम्भ गर्नुभएपछि यो सम्पूर्ण संसार निद्रा मग्न हुन्छ । हजुर हरिबोधिनीमा जाग्नुहुँदा यो संसार पनि जागा हुन्छ । हे भगवान् । हजुर प्रसन्न हुनुहोस् । मैले यी चार महिना नियमपूर्वक व्रत गर्नेछु । हजुरले मेरो व्रतलाई निर्विघ्न तुल्याउनुहोस्’ भनी प्रार्थना गर्नुपर्दछ ।
यसरी व्रत लिने मानिसले श्रावणमा साग, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दुई दल हुने पदार्थको सेवन गर्नुहुँदैन । भगवान् शयनमुद्रामा रहनुहुने चतुर्मासमा भक्तिमान् व्यक्तिले ज्यामिर, राजमा, रातो मूला, कुभिन्डो र उखुको सेवन गर्न हुँदैन, पलङ, बेन्च आदिमा शयन गर्न हुँदैन र ऋतुकालबाहेकका दिनहरूमा सम्भोग गर्न हुँदैन ।