झापामा एकै दिन तीन जनाको मृत्यु
बिर्तामोड । झापामा शनिबार तीन जनाको मृत्यु भएको छ । अटो दुर्घटनामा परि दुई जना र पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा नम्बर १० ढाटचोकस्थित भित्री सडकखण्डमा महामति फर्निचर उद्योगबाट नागरडुव्बातर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा सिटी चालक मेचीनगर–११ बस्ने ३२ वर्षीय राज कडरिया घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा उपचारको क्रममा १०ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै सिटी सफारी दुर्घटनाका घाइते अर्का एक व्यक्तिको शनिबार मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा मृत्यु भएको हो । असार १५ गते बिहान १०ः३० बजे मेचीनगर–७ पालिया टोलस्थित भित्री सडकखण्डमा पूर्वपश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे१ह ६१०५ नम्बरको सिटी आफै अनियन्त्रित भई रोडमा पल्टिएको थियो । सिटीमा सवार मेचीनगर- ७ नयाँ बसपार्क बस्ने ४० वर्षीय सुदिप राजवंशी घाइते भएका थिए ।
घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न सिटी र सिटी चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय नबिन बिश्वकर्मालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आजै दिउँसो अन्दाजी ३ बजे भद्रपुर वडा नम्बर ३ देउनिया खोला र मेची खोलाको दोभानमा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर वडा नं. २ महारानी चोक बस्ने अर्जुन लिम्बूका छोरा अन्दाजी १२ वर्षका अर्पण लिम्बू साथीहरुसंग पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किचकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने क्रममा सोही स्थानमा अर्पणलाई मृत फेला पारेको प्रहरीले जनाएको छ ।