लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीद्वारा एकै दिन दुई सहयोग
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले एकै दिन दुई सामाजिक कार्य गरेको छ । उनीहरले पय शुक्रबार बिर्तामोड–४ लालीगुराँस भक्तबारीस्थित स्नेहा माया घर (वृद्धाश्रम) र बिर्तामोड–६ स्थित एक क्यान्सर पिडितलाई सहयोग गरेका हुन् ।
बिर्तामोड स्मार्ट लेडीका संस्थापक अध्यक्ष लीला मैनालीका छोरा विकास मैनालीको जन्म दिनको अवसरमा मैनालीको सहयोग र स्मार्ट लेडीको संयोजनमा गुरुप्रसाद–डिकमाया ओझा फाउण्डेशनद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित बुवाआमाहरुका लागि खाद्यान्न तथा फलफुल सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् ।
त्यस्तै आजै बिर्तामोड–६ सितलनगर (बेलगाछी) स्थित क्यान्सर पिडित सरिता विकको उपचारमा सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग गरेको महासचिव शिला भट्टराई बरालले जानकारी दिइन् ।
अध्यक्ष यशोदा उप्रेतीको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट चिफ पीआरओ सत्यनारायण शर्मा, रिजन चेयरपर्सन पार्वत गिरी, जोन टु चेयर पर्सन शर्मिला जोशी, संस्थापक अध्यक्ष लीला मैनाली, फर्स्ट भाइस प्रेसिडेन्ट सरु भुर्तेल, सेकेन्ड भाइस प्रेसिडेन्ट गोमा मैनाली खड्का लगायत अन्य सदस्यहरु सहभागी थिए । कार्यक्रम महासचिव शिला भट्टराई बरालले सञ्चालन गरेकी थिइन् ।