झापा अदालतमा थपिए मेलमिलापकर्ता, प्रमुख न्यायाधीश लुईंटेलले गराए सपथ
बिर्तामोड । जिल्ला अदालत झापामा १० जना मेलमिलापकर्ता थपिएका छन् । अदालतका प्रमुख न्यायाधीश उमेश प्रसाद लुइँटेलले एक कार्यक्रमका बिच थपिएका मेलमिलापकर्तालाई सपथ गराएका हुन् ।
सोमबार अदालतमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई सपथ गराइएको हो । कार्यक्रममा बोल्दै प्रमुख न्यायाधिश लुइटेलले विवाद समाधानको वैकल्पिक र दीगो उपाय मेलमिलाप भएकोले न्यायसम्पादनमा मेलमिलाप प्रक्रियालाई प्राथमिकतामा राखिएको हुँदा सूचीकृत मेलमिलापकर्ताले अनुशासन र इमान्दारीका साथ मेलमिलाप प्रक्रिया सञ्चालन गरेमा विवाद समाधानमा मेलमिलापको महत्व अझ झल्कने बताए । सोमबार सूचीकृत भएका मेलमिलापकर्ताहरुले इमान्दारी र अनुशासनपूर्वक कार्यसम्पादन गर्नेमा अदालत विश्वस्त रहेको उनले बताए ।
झापाका बिभिन्न स्थानीय निकायबाट सपथ लिएका मेलमिलापकर्ता मध्ये परमानन्द मिश्रले अनुशासनपूर्वक कार्य गर्ने मेलमिलापकर्ताहरुको तर्फबाट प्रतिवद्दता ब्यक्त गरे ।
सोमबार सूचिकृत मेलमिलापकर्तालाई सपथ गराएपछि झापा जिल्ला अदालतमा सूचिकृत हुनेको संख्या ४५ जना पुगेको अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।
८ जना न्यायाधीश कार्यरत रहेको झापा जिल्ला अदालतमा मुद्धाका पक्षहरु बिचमा जित–जित (विन–विन)को लागि मेलमिलाप केन्द्रमा मुद्धा पठाई सुचिकृत मेलमिलापकर्ताहरुबाट मेलमिलाप गराउने गरिएको बस्नेतले बताए । साथै स्वचालित पेशी प्रणाली र इजलास छनौटमा गोला पद्धति लागू भै सकेको र मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र अदालतको कामकारवाही को विवरण अदालतको वेवसाइट http://.supremecourt.gov.np/court/jhapadc बाट हेर्न सकिने सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश लुईटेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यकमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।