जन्म दिनमा बाल आश्रमका विद्यार्थीलाई साइकल उपहार
बिर्तामोड । बिर्तामोड-४ स्थित गोमेन्द्र विर्ता मोडेलका एकेडेमिक इन्चार्ज प्रत्युग खनालले आफ्नो जन्म दिनमा विद्यार्थीलाई साइकल दिएका छन् । तारा नमस्ते बाल आश्रममा आश्रित अर्जुन कार्कीलाई साइकल उपहार दिईएको हो ।
कार्की गोमेन्द्र विर्ता मोडेलमा कक्षा ५ मा अध्ययनरत छन् । कार्कीलाई कक्षा १ देखि गोमेन्द्र विर्ता मोडेलले निःशुल्क अध्यापन गराउँदै आएको विद्यालयका निर्देशक उत्तम खनालले जानकारी दिए ।
करीब २ किलोमिटर दुरी हिँडेर विद्यालय आउन अर्जुनलाई गाह्रो भएको र जन्म दिनमा फजुल खर्च गर्नु भन्दा सामाजिक काम गरौं र अरुलाई पनि प्रोत्साहन गरौँ भनेर साइकल प्रदान गरिएको प्रत्युगले बताए ।
विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बोल्दै तारा नमस्ते बाल आश्रमका सञ्चालक यशोदा चापागाईले प्रत्युगलाई जन्म दिनको शुभकामना दिँदै आफ्ना बच्चालाई अति आवश्यक साइकल प्रदान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा प्रत्युगसहित आजै जन्म दिन मनाउने विद्यालयका शिक्षक रुवास श्रेष्ठलाई विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थीले शुभकामना दिएका थिए ।