नुवाकोटका ४ जना लागूऔषध कारोबारी झापामा पक्राउ
बिर्तामोड । प्रहरीले लागूऔषध लिन आएका नुवाकोटका चार जना कारोबारीलाई पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा क्रेटा कारमा आएका एकै गाउँका उनीहरुलाई प्रहरीले बुधबार भद्रपुरबाट पक्राउ गरेको हो ।
बुधबार दिउँसो २ बजे वडा कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा खटिएको टोलीले भद्रपुर नगरपालिका वडा नम्बर ७ आनिमार्गमा बाग्मती प्रदेश ०१–०३९च ०८७७ नम्बरको ह्युन्डाई कम्पनीको क्रेटा कारलाई चेकजाँच गर्दा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ३१ को साजन तामाङ, बर्ष ३० को सजिन लामा, बर्ष ३३ को दिपेश लामा र बेलकोटगढी नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २३ को राम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट २ सय ३९० ग्राम ब्राउन सुगर, ५ थान मोबाइल समेत बारमद गरेको जिप्रका झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन् २०३३ बमोजिम अनुसन्धानका लागि आजै जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिनको म्याद थप गरिएको उनले बताए ।