सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह शुरु
बिर्तामोड । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा आजदेखि ट्राफिक सप्ताह शुरु भएको छ । आज बिहान बिर्तामोडमा प्रभातफेरि निकालेर ट्राफिक सप्ताह शुरु गरिएको हो ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ शुभारम्भ गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईले दुईजना बालबालिकालाई हेल्मेट लगाउनुका साथै दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेकी थिइन्।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय, विद्यार्थी हरुको सहभागितामा बिर्तामोडको हनुमान सेन्ट्रलबाट प्रभातफेरि निकालिएको हो। प्रभातफेरि सिटीसेन्टरको साई पार्टी प्यालेसको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा का प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले सञ्चालन गरेका थिए।