इजरायल र इरानमा रहेका नेपालीको उद्धार योजना
झापा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इरान र इजरायलबीचको युद्ध झन् चर्किँदै गएपछि मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित राख्ने देखि उद्धारसम्मको कार्ययोजना मङ्गलबार बनाएको छ । श्रम सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा परराष्ट्र, गृह, पर्यटन, कानुन तथा संसदीय समिति र सरोकारवालासहितको आपत्कालीन बैठकले मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई सुरक्षित रूपमा राख्नेदेखि उद्धार गर्ने कार्ययोजना बनाएको हो ।
बैठकले नेपाली श्रमिकको उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने निर्णय गरेको हो । ‘नेपाली श्रमिकलाई सुरक्षित राख्ने सरकारको तयारी पूरा भइसकेको छ । जस्तोसुकै परिस्थितिमा सबै प्रकारका सहयोग जुटाउन मन्त्रालय तयार छ,’ श्रम सचिव पुष्करले भने ।
बैठकले इजरायल र इरानमा रहेका नेपाली अन्य मुलुक हुँदै नेपाल आउन चाहेमा त्यस्ता मुलुकका बोर्डरमा भिसा उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशलाई पत्राचार गर्ने निर्णय गरेको छ । ‘इजरायल र इरानमा रहेका नेपाली बाहिरिन चाहेमा अर्को देशमा प्रवेशका लागि सहज भिसा उपलब्ध गराउनुपर्ने अवस्था आउन सक्छ । इजरायलबाट निस्कन सकिने सजिलो मार्ग इजिप्ट हो । इरानबाट स्थलमार्ग हुँदै निस्कन सकिने अर्को मुलुक हुन सक्छ,’ सचिव पुष्करले भने, ‘भारत र चीनले आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि सामेल गराउन कूटनीतिक माध्यमबाट अनुरोध गर्नेछौं ।’
बैठकले आपत्कालीन कामबाहेकका लागि मध्यपूर्व क्षेत्रमा नजान ट्राभल एडभाइजरी जारी गर्ने निर्णय गरेको छ । ‘मध्यपूर्वमा रहेका नेपाली श्रमिकलाई सुरक्षित रूपमा राख्न र हालै भिसा जारी भएका नयाँ श्रमिक नपठाउन म्यानपावर कम्पनीमार्फत रोजगारदातालाई अनुरोध गर्नेछौं,’ उनले भने, ‘टिकट काटिसकेको अवस्थामा मिति सार्दा लाग्ने खर्च मिनाहा गर्न पर्यटन मन्त्रालयमार्फत एयरलाइन्स कम्पनीलाई अनुरोध गर्नेछौं ।’ बैठकले युद्धबाट प्रभावित श्रमिकलाई मङ्गलबारदेखि मनोपरामर्श सेवा दिन वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको छ ।