हेंवा खोलाको बेलिब्रिज भाँच्चिदा घाइते भएका मध्ये तीन जनाको मृत्यु
बिर्तामोड । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेंवा खोलामा निर्माणाधिन बेलिब्रिज भाँच्चिएर घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २२ को रूपलाल चौधरी, सोहि स्थानका वर्ष २७ को राजन चौधरी र बर्ष २२ को राकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
उनीहरुसहित सोहि स्थानका बर्ष २५ को भुलेश्वर चौधरी, बर्ष ३५ को प्रकाश चौधरी र बर्ष ३० को अभिषेक चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथरले नोबेल अस्पताल रेफर गरेको थियो ।
२०८० साल असार २ गते आएको बाढीले हेंवा खोलाको पुल बगाएपछि बेलिब्रिज हाल्ने काम भइरहेको थियो । पहिलो पटक हालिएको बेलिब्रिज २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक बेलिब्रिज हाल्ने क्रममा जेठ ३१ गते शनिबार साँझ ६ः२० बजे दुर्घटना भएको हो । निर्माणको अन्तिम दिन नै बेलिब्रिज भाँच्चिएको हो ।