हेवा खोलाको निर्माणाधिन बेलिब्रिज भाँच्चिदा ६ जना घाइते, ४ जनाको अवस्था गम्भीर
बिर्तामोड । पाँचथरको हेवा खोलामा निर्माणाधिन बेलिब्रिज भाँच्चिदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
शनिबार अन्दाजी ६:२० बजे फिदिम नगरपालिका वडा नम्बर ४ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ जोड्ने मेचीराजमार्गमा निर्माणाधिन बेलिब्रिज भाँच्चिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पुल भाँच्चिदा त्यहाँ कार्यरत कामदारहरु बारा जिल्ला सिमरा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २२ को रूपलाल चौधरी (बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर), सोहि स्थानका वर्ष २७ को राजन चौधरी (पिठ्युमा चोट तत्काल अवस्था बोल्न नसक्ने गम्भिर), बर्ष २२ को राकेश चौधरी (बाहिरी चोट नदेखीएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर), वर्ष २५ भुलेश्वर चौधरी (दायाँ खुट्टा भाँच्चिएको तत्काल अवस्था बोल्न नसक्ने गम्भिर), वर्ष ३५ को प्रकाश चौधरी (टाउको र शरिरको विभिन्न भागमा चोट तत्काल अवस्था बोल्न सक्ने मध्यम) र वर्ष ३० अभिषेक चौधरी (टाउकोमा चोट तत्काल अवस्था मध्यम) घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।
अस्पतालले उनीहरुलाई सुविधासम्पन्न झापाको अस्पताल रेफर गरेको बताइएको छ ।
सङ्घीय सरकारको बजेटबाट ३ करोड ४९ लाख रुपैयाँको लागतमा दोभान सुपर सौगात लाइट बेल्डर जेभीले बेलिब्रिज निर्माणको कार्य गरिरहेको छ ।
बेलिब्रिजको स्ट्रक्चर बलियो बनाउन फिदिमपट्टि २ हजार ६ सय घनमिटर ग्याविन वाल निर्माण गरिएको छ । ७० मिटर लम्बाइ र १० मिटर उचाइको उक्त सिङ्गल स्पानको यो बेलिब्रिज नेपालकै सबै भन्दा लामो हो । जसको क्षमता २५ टन भार वहन रहने छ ।
२०८० साल असार २ गते आएको बाढीले सडक बगाएपछि साउनमा बेलिब्रिज जडान गरिएको थियो उक्त बेलिब्रिजसमेत २०८१ असोज १२ गते आएको बाढीले बगाएपछि पुनः जडानको काम भइरहेको हो ।