झापाका नौ हजार घर बाढीको जोखिममा
बिर्तामोड । यस वर्षको मनसुन र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित विपद्बाट यहाँका करिब नौ हजार घर बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
सम्भावित विपद् पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय झापामा भएको सर्वपक्षीय बैठकमा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्तो जोड दिएका हुन् ।
बैठकमा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर झण्डै २० लाख नागरिक प्रभावित हुन सक्ने चेतावनी दिएपछि यहाँ पनि सोहीअनुसार तयारी गर्नुपर्ने सरोकार भएकाहरूको जोड छ ।
झापाका अधिकांश स्थानीय तहले मनसुन पूर्वको तयारीमा खासै चासो नदेखाएको भन्दै नेपाल रेडक्रस सोसाइटी झापाले बैठकमा सबैको ध्यानाकर्षण गराएको सभापति लोकराज ढकालले बताए । जिल्लाका आठ हजार नौ सय १९ घर बाढीको अति उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अभावले जनधनको ठूलो क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने आफ्नो भनाइरहेको बताए ।
उनका अनुसार गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी गाउँपालिका बाढीको उच्च जोखिममा रहेको तथा कनकाइ, बिरिङ, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमल जस्ता नदीहरूबाट डुबानको खतरा रहेको छ ।
रेडक्रसका अनुसार जिल्लामा कनकाई, बिरिङ र निन्दा नदीमा बाढी मापन केन्द्रहरू तथा नौ स्थानमा वर्षा मापन केन्द्रहरू रहेका छन् । यहाँ रेडक्रसका १२५ जना तालिमप्राप्त स्वंयसेवक तयारी अवस्थामा रहेको छन् । कनकाई नदीको वारिपारि दुई स्थानमा राहत सामग्री भण्डारणका लागि कन्टेनर राखिएको र ती कन्टेनरमा आवश्यक सामग्री थप्न स्थानीय तहलाई आग्रह गरिएको सभापति ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस वर्षको मनसुन र त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् व्यवस्थापनमा सक्रिय बन्न सरोकार भइका सबैलाई आग्रह गरे ।