बिर्तामोडमा विज्ञान प्रदर्शनीको तयारी पूरा
बिर्तामोड । बिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनीको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलनमार्फत आयोजकले प्रदर्शनीको तयारी पुरा भएको जनाएको हो ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले आयोजना गर्न लागेको प्रदर्शनी जेठ २४ गतेदेखि बिर्तामोडस्थित देवी माविमा हुने नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
प्रतियोगितात्मक प्रदर्शनी, अप्रतियोगी प्रदर्शनी एवम् स्वयम्सेवी संस्थाहरुको गरी १२५ वटा स्टल तयार गरिएको पोखरेलले बताए । कोशी प्रदेशबाट १२ जिल्लाका ७० वटा विद्यालयले प्रतियोगिताका सहभागी हुन नाम दर्ता गराइसकेको जानकारी दिँदै विभागीय प्रमुख पोखरेलले उत्कृष्टहरुले पुरस्कार पनि प्राप्त गर्ने बताएका छन् ।
उनका अनुसार प्रथम पुरस्कार ४ लाख रुपैयाँ, दोस्रो पुरस्कार ३ लाख रुपैयाँ, तेस्रो पुरस्कार २ लाख रुपैयाँ र चौथो पुरस्कार १ लाख रुपैयाँ तथा २५ वटा विद्यालयलाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ ।
कोशी प्रदेशका १४ मध्ये १२ वटा जिल्लाबाट सहभागिताका लागि सुनिश्चित भएको र झापाका ३९६ वटा माध्यमिक विद्यालयलाई पत्राचार नै गरिएको जनाइएको छ ।
प्रदर्शनीको उद्घाटन जेठ २४ गते बिहान ११ बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको विभागीय प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
उक्त अवधिभर विज्ञान तथा प्रविधि सम्बन्धी छलफल, अन्तरक्रिया एवम् विज्ञहरुबाट मन्तब्य सुन्न पाइने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आयोजनाको कूल लागत ४४ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको जनाइएको छ ।