२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा जेठ २२ गते गायत्री जयन्ती मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १९ गते , सोमबार
बिर्तामोडमा जेठ २२ गते गायत्री जयन्ती मनाइँदै

झापा । आगामी जेठ २२ गते बिर्तामोडमा गायत्री जयन्ती मनाइने भएको छ । बुद्धि, ज्ञान र दिब्य शक्तिको प्रतिनिधित्व गर्ने देवी गायत्रीको अवतारलाई पवित्र हिन्दू पर्वका रुपमा गायत्री जयन्ती मनाउने गरिएको हो । बिर्तामोड-५ स्थित गायत्री मन्दिरमा गायत्री जयन्ती मनाउन लागिएको हो ।
पूर्वमै पहिलो पटक बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गर्दै सञ्चालनमा ल्याएसंगै झापावासीले माताको स्मरणमा मन्दिरमा बसेर पूजाआजा गर्दै मन्त्रोच्चारण गर्न पाउने भएका हुन् ।
गायत्री माता मन्दिर सेवा समितिले जेठ २२ गते मन्दिरमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै सन्ध्या आरती समेत गर्ने कार्यक्रम तय गरेसंगै झापावासीले यसको लाभ लिन सक्ने भएका हुन् ।
बिर्तामोडका युवा व्यवसायी रौनक वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधि पूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएसंगै यो वर्ष गायत्री जयन्ती मन्दिर परिसरमा मनाउन लागिएको गायत्री माता मन्दिर सेवा समितिका अध्यक्ष विवेक अग्रवाललले जानकारी दिए ।  
उनका अनुसार जेठ २२ गते विहान ९ बजे मन्दिर परिसरबाट निशान यात्रा निकाल्ने र बिर्तामोड परिक्रमा गर्दै पुनः मन्दिर परिसर पुग्ने कार्यक्रम छ । त्यस पश्चात मन्दिरमा माताको विशेष पूजा आरधना गरिने र साँझ ७ बजेबाट सन्धाकालीन भजन कीर्तनको आयोजना गर्दै महाप्रसाद बितरण गरिने भएको हो ।
माताको भजन कीर्तनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका ख्याति प्राप्त भजन गायकको उपस्थिति रहने जनाइएको छ ।
झापामा नै पहिलो पटक माता गायत्री देवीको मन्दिर निर्माणसंगै गायत्री जयन्त्री मनाउने कार्यक्रम रहेकाले आम श्रद्धालु भक्तजनलाई माताको जयन्तीमा सहभागी बन्दै पुण्यआजर्न गर्न सेवा समितिले आज जनसाधरणलाई आग्रह गरेको छ ।
परम्परा अनुसार गायत्री जयन्तीलाई वेद व्यास जयन्तीका रुपमा पनि मनाइने गरिएको छ ।
वेदकी आमा र आध्यात्मिक प्रकाशको सर्बाेच्च स्रोत मानिने गायत्री मातालाई गहिरो सम्मान गरिन्छ । हिन्दू धर्ममा एक पबित्र र शक्तिशाली देवीको रुपमा माता गायत्रीलाई लिने गरिन्छ । भक्तजनले माता गायत्रीको भजन र  मन्त्र जप गरेर मातालाई स्मरण गर्ने गरेका छन् । 

सम्बन्धित समाचार