बजेटमा ‘झापा’ चार ठाउँमा
बिर्तामोड । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गरेका छन् । ४२८ बुँदामा समेटिएको बजेटमा झापा चार ठाउँमा उल्लेख गरिएको छ ।
आगामी बर्षको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा औद्योगिक पार्क र रंगशाला निर्माणबाहेक अरु कुनै ठोस योजना समेटिएको छैन ।
बजेटको बुँदा नम्बर ८२ मा ‘लगानी बोर्डमार्फत सार्वजनिक निजी साझेदारीमा झापाको दमकस्थित औद्योगिक पार्कको निर्माण, सञ्चालन र व्यवस्थापन गरिनेछ’ उल्लेख छ । त्यस्तै बुँदा नम्बर १०५ मा ‘झापाको भद्रपुर, दाङको टारीगाउँ र ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिनेछ’ उल्लेख गरिएकोछ ।
बुँदा नम्बर १९५ मा ‘झापाको दमकमा सबैप्रकारका खेल प्रतियोतगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिनेछ’ भन्ने उल्लेख छ भने बुँदा नम्बर २५९ मा ‘झापाको बाहुण्डाँगीदेखि डडेल्धुराको रुपालसम्मका वस्ती र बजारलाई जोड्ने मदनभण्डारी राजमार्ग निर्माणका लागि लागत रु. २ अर्ब ५१ करोड बजेट विनियोजन गरेको छु’ भनेर उल्लेख गरिएकोछ ।