नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित

एजेन्सी । पहिलो पटक चिनियाँ विश्वविद्यालयबाट नेपाली भाषामा स्नातकोत्तर (एमए) अध्ययन गर्ने चिनियाँ विद्यार्थी दीक्षित भएका छन् ।
युनान विश्वविद्यालय दक्षिण एसियाली विदेशी भाषा विभाग अन्तर्गत नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर (एमए) गरेका हुन् । हाल चीनमा नेपाली भाषामा स्नातकोत्तरको अध्ययन हुने एकमात्र युनान विश्वविद्यालयमा पहिलोपटक दुईजना छात्राले अध्ययन पूरा गरेका हुन् ।
यसअघि, चीनमा नेपाली भाषामा चिनियाँ छात्र छात्राले चारवटा विश्वविद्यालयमा स्नातक तहको मात्र अध्ययन अध्यापन हुने गरेको थियो । पहिलोपटक युनानमा स्नातकोत्तर (एमए) तहको अध्ययन हुन थालेपछि चिनियाँ विद्यार्थीहरुलाई नेपाली भाषामा उच्च शिक्षा गर्ने अवसर प्राप्त भएको हो ।
नेपाली भाषामा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरुले नेपाली, भाषा, ब्याकरण, नेपाली संस्कृति, नेपाली साहित्य र नेपालको राजनीति र कूटनीतिका बारेमा पढ्ने गर्दछन् । दक्षिण, पूर्वी एसियाली भाषा विभागका प्रमुख प्राध्यापक डा वाग चुगले भने, ‘आगामी बर्ष चार जना चिनियाँ छात्राले नेपाली भाषामा स्नातकोत्तर गर्ने अवसर पाएका छन् ।’
युनान विश्वविद्यालयमा हाल नेपाली भाषा प्रमुख विषय लिएर स्नातकोत्तर गर्ने अध्ययन गर्ने ९ जना र स्नातक तहमा २४ जना विद्यार्थी अध्ययरत छन् । शुक्रबार स्नातक तहका १३ जना विद्यार्थी स्नातक तह उर्तीर्ण गरी दीक्षित समेत भएका छन् ।
चीनमा राजधानी बेइजिङमा रहेको चिनियाँ सञ्चार विश्वविद्यालय, सिचाङ मिन्चु विश्वविद्यालय र युनान प्रान्तमा रहेको रहेको युनान मिन्चु विश्वविद्यालयबाट चिनियाँ विद्यार्थीहरुले नेपाली भाषामा स्नातक तहसम्मको अध्ययन गर्न सक्ने व्यवस्था छ ।