व्युटिसियन तालिममा सहभागीलाई धौलागिरीद्वारा प्रमाणपत्र वितरण
बिर्तामोड । धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाले व्युटिसियन तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेको छ । संस्थाले तालिम गराएका १० जना प्रशिक्षार्थीलाई सोमबार बिर्तामोडस्थित प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र वितरण गरेको हो ।
संस्थाका शेयर सदस्य तथा उनीहरूको परिवारका सदस्यलाई उद्यमशील बनाउने उद्धेश्यले १२० दिने एडभान्स तालिम प्रदान गरेको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
इन्टरनेसनल ब्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरमा भएको तालिममा प्रशिक्षक सुमित्रा पनेरुले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रमका वक्ताहरुले प्रशिक्षार्थीहरुलाई सिकेको सीपलाई व्यवहारमा उतार्न र स्वरोजगार बन्न आग्रह गरे । उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आर्थिक र प्राविधिक पक्षमा धौलागिरीले सहजीकरण गर्ने संस्थाका कार्यकारी प्रमुख पौडेलले बताए । संस्थाले यस्ता तालिम आगामी दिनमा समेत सञ्चालन गर्दै लैजाने उनले बताए ।
कार्यक्रममा संस्थाका सचिव डा. गौरीशंकर झा, कार्यकारी प्रमुख पौडेल, प्रशिक्षक पनेरुलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष किशोर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति संयोजक पुष्पराज भट्टराई, व्यवस्थापक मोहन पनेरु, सञ्चालक सदस्य रेशबहादुर बस्नेतलगायत उपस्थित थिए । शिक्षा उपसमितिका सदस्य ज्ञानेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।