कोलाटोली खानेपानीको बेतिथी बिरुद्ध दलहरु एक ठाउँमा
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा निर्माण भएको कोलाटोली खानेपानी संस्थाको बेतिथी बिरुद्धमा राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् । शनिबार विहान पत्रकार सम्मेलन गरि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले बेतिथी विरुद्ध सामूहिक आवाज उठाएका हुन् ।
डेढ दशक अघिबाट निर्माण शुरु भएको उक्त खानेपानी संस्थाले हालसम्म खानेपानी वितरण गर्न नसकेको, व्यक्तिको जग्गामा राज्यले लगानी गरि अनियमितता गरेको, संस्थाले हालसम्म लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगरेको, सिमित व्यक्तिहरु मिलेर समिति गठन गर्ने गरेको, राज्यले संस्थाको पारदर्शिताको बिषय नहेरी बर्षेनी बजेट निकासा गर्ने गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका बिर्तामोड नगर उपसभापति तथा वडा नम्बर ६ का वडाध्यक्ष सुर्य कन्दङवाले व्यक्तिको जग्गामा राज्यले लगानी गर्नु दुरुपयोग गर्नु हो भन्दै आपत्ति जनाए । पटक पटक बेतिथी विरुद्ध खबरदारी गर्दासमेत सुनुवाई नभएकाले पत्रकार सम्मेलन गर्नु बाध्यता भएको उनले सुनाए । संस्थालाई सुशासनयुक्त बनाउन उनले आग्रह गर्दै त्यसो नगरे त्यसबाट उत्पन्न परिणाम सम्बन्धित व्यक्तिहरुले भोग्नुपर्ने उनले चेतावनी दिए । बेतिथीका विरुद्ध सबै दलहरु मिलेर अगाडी बढ्ने समेत उनले बताए ।
नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले अन्य स–साना योजनाको फरफारकमा विभिन्न कागजात खोजिने तर व्यक्तिको जग्गामा लाखौँ रकम बर्षेनी लगानी गरेर कसरी फरफारक गरिन्छ ? भन्दै उनले प्रश्न गरे । खानेपानीमा कुनै विधि प्रक्रिया हुदैन कि क्याहो ! भन्दै उनले आश्चर्य व्यक्त गरे। उनले कोलाटोली खानेपानी संस्थाले गर्दै आएको गलत काम तत्काल रोकेर विधिसम्मत बनाउन उनले आग्रह गरे ।
राप्रपाका नगर अध्यक्ष लक्ष्मी गौतमले बिर्तामोडमा भएका बेतिथी विरुद्ध पालिकामा यस अघि नै राप्रपाले ज्ञापन पत्र बुझाउने क्रममा कोलाटोली खानेपानीको समेत बिषय उठान गरेको भन्दै अन्य दलहरुले समेत सो बिषय उठाएकोमा उनले धन्यवाद दिए । स्थानीय सरकारले समेत आफ्नो दल निकट मान्छेहरुलाई समितिमा राखेर बजेट निकासामा सहयोग गरेको तर पारदर्शितामा कहिले प्रश्न नउठाएको गुनासो गरे । उनले बेतिथीको विरुद्ध सबै वडामा खबरदारी गर्न अन्य दलहरुलाई आग्रहसमेत गरे ।
कोलाटोली खानेपानीको बेतिथी सम्बन्धित समिति, निकायमा सार्वजनिक गर्न माग गर्ने र त्यो सुनुवाई नभए अख्तियारमा जाने गौतमले चेतावनी दिए ।
पत्रकार सम्मेलनमा बोल्ने अधिकांश वक्ताहरुले तत्काल व्यक्तिको नाममा भएको सो जग्गा संस्थाको नाममा नामसारी गर्न र हालसम्म भएका हिसाब सार्वजनिक गर्न माग गरे ।
करिब १६ बर्ष अघिदेखि ३ कठ्ठा जग्गामा निर्माण शुरु भएको कामाटोली खानेपानी संस्थाको काम हालसम्म पनि सम्पन्न भएको छैन । राज्यले लाखौँ रुपैँया लगानी गरेको सो खानेपानीमा एउटा खानेपानी ट्याङ्की, दुई वटा प्रशासनीक भवन र कम्पाउण्ड वाल निर्माण भएपनि जीर्ण बन्दै गइरहेको स्थानीयबासीसमेत रहेका नेपाली कांग्रेस ९ नम्बर वडा सभापति बासु अधिकारीले बताए । करिब १ किलोमिटर पाइप लाइन विस्तार गरेको र अन्य पाइपहरु जथाभावी अवस्थामा रहेको उनले बताए ।
हरिचरण शिवाकोटी संस्थापक अध्यक्ष भएर आफन्तको नाममा भएको जग्गामा ट्याङ्की लगायत संरचना निर्माण शुरु गरेको स्थानीयले बताए । हाल सो वडाका वडाध्यक्ष हरि चौलागाई सो खानेपानी संस्थाको संस्थापक सचिव भएपनि हालसम्म हिसाव किताव सार्वजनिक गर्न नसकेको बताइएको छ ।
पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रिय सदस्य सजेश शिवाकोटी, माओवादी केन्द्रका ९ नम्बर वडाध्यक्ष केशव उप्रेती, राप्रपाका वडाध्यक्ष वसन्त खड्का, माओवादी केन्द्रका नगर सचिव जगन्नाथ भट्टराई, समाजसेवी धर्म लक्सम्बालगायत स्थानीयबासीको उपस्थिती रहेको थियो ।