ठूलो परिमाणमा अवैध रकमसहित एक व्यक्ति पक्राउ
बिर्तामोड । झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध भारतीय नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । मेचीनगर–७ जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित डम्बर बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्ती टोलीले काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागि चेकजाँच गर्ने क्रममा मोरङ्ग उर्लाबारी नगरपालिका ८ बस्ने ३८ वर्षीय कार्कीको साथबाट सो परिमाणको अवैध रकम फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका निमित्त गणपति एवम सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।
प्रहरीले उनको साथबाट रु ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ (विनिमय दर अनुसार नेपाली रू. २३ लाख ९९ हजार ५२० बराबर) फेला पारेको पोख्रेलले बताए ।
बरामद नगदसहित कार्कीलाई आवश्यक कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।