सामाजिक सञ्जालमा जे लेख्दापनि हुन्छ भन्ने भावनाको विकास भयो : प्रसाई
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले सामाजिक सञ्जालमा जे लेख्दापनि हुन्छ, जे भन्दापनि हुन्छ भन्ने भावनाको विकास भएको बताएकीछन् । झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो धारणा राखेकीहुन् ।
‘अहिले सामाजिक सञ्जालमा जे लेखे पनि हुने, जे भने पनि हुने भन्ने खालको भावना विकास भएको पाइन्छ,’ उनले भनिन्, सञ्जालमा के लेख्ने भन्ने चेतनाको विकास भएको छैन ।’ सामाजिक सञ्जालमा धेरै विकृति भएको बताउँदै उनले त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् । कानून र विधि बनाएर सामाजिक सञ्जालको नियमन गर्नुपर्ने उनको भनाइ छ । उनले गलत सूचना र अफवाह फैलिने भएकाले सामाजिक सञ्जालमाथि नियमन आवश्यक रहेको धारणा राखिन् ।
प्राइड मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा भएको अन्तरक्रियाकै बिच नयाँ पेपर डटकमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिलका निवर्तमान सञ्चालक सदस्य गणेश पोखरेल, पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटा, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले आफ्ना भनाई राखेका थिए ।
प्राइड मिडिया प्रालिका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि सञ्चारकर्मी उमाकान्त खनालले प्रष्ट पारेका थिए भने नयाँ पेपरका प्रधान सम्पादक रमेश तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । सहभागीहरुलाई प्राइड मिडियाका सञ्चालक पदम श्रेष्ठले स्वागत गरेका थिए ।