श्रमिक दिवसमा रक्तदान
झापा । १३६औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिर्तामोडमा रक्तदान आयोजना गरिएको छ। व्यापार क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन युनिकम नेपाल झापा र इलाम-झापा मैत्री समाजले संयुक्त रुपमा रक्तदान आयोजना गरेका हुन् ।
श्रमिकहरुको दिवसको अवसर पारेर 'पसिनाको पैसाले हाँस्न पुगोस' भन्ने मूल नाराकासाथ रगत अभावलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन भएको इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन् ।
युनिकम नेपाल झापाकी अध्यक्ष अर्पणा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला सदस्य टिकाराम दवाडीले गरेका थिए । इलाम-झापा मैत्री समाजका उपाध्यक्ष नरेश कर्माचार्य लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बिमल कट्टेलले गरेका थिए ।