भ्रमणमा गएको दमक नगरपालिकाको गाडी दुर्घटना, एक कर्मचारीको मृत्यु
बिर्तामोड । झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएको टोली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि नगरपालिकाको एक जना कर्मचारीको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
भ्रमणबाट फर्कँदै गरेको गाडी उदयपुरको कटारी नजिक दुघर्टना हुँदा दमक नगर पालिका वडा नं. ३ घर भई दमक नगरपालिकामा कानुन अधिकृतको रुपमा कार्यरत कर्मचारी माधव बस्नेतको ज्यान गएको हो । दुघर्टनमा परि वडाध्यक्ष सहित अन्य ५ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल कटारीमा सामान्य उपचार पछि घाइतेहरुको थप उपचारका लागि विराटनगर अस्पताल रेफर गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले बताए । प्रजिअ लुईंटेलका अनुसार दमक वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अवस्था केही जटिल भए पनि अन्य ४ जनाको अवस्था भने खतरामुक्त रहेको छ ।
घाइते हुनेमा नविन खतिवडा, भुवन दाहाल, कमल श्रेष्ठ, ज्ञानेन्द्र गौतम् रहेका छन् । गत बैशाख १२ गते शुक्रबारका दिन स्थानीय तहको न्यायिक सम्पादनको विषयमा पालिका स्तरको अवलोकन भ्रमणमा गएको मे १ च ३०४० को स्करपियो गाडी आफै अनियन्त्रित भइ मदन भण्डारी राजमार्ग अन्तर्गत कटारी नगरपालिका ६ सोमबारे भन्ने स्थानमा दुघर्टना भएको उदयपुरका प्रहरी नायव उपरिक्षक कमल बजगाँईले जानकारी दिए ।
सवा ४ बजे तिर भएको दुघर्टनामा चालक बाहेक अन्य घाइते भएको बताइएको छ । चालक देवेन्द्र तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।