श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेज गर्न माग
बिर्तामोड । योगदानमा आधारित सामाजिक सुरक्षा कायम गर्न र श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेज गर्न माग गरिएको छ । १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसमा सहभागी श्रमिकहरुले त्यस्तो माग गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय विहीबार १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस एक कार्यक्रम गरि मनाएको छ । उनीहरुले ‘श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ’ भन्ने मूल नाराका साथ १३६औं मजदुर दिवस मनाएका हुन् । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल ढुवानी मजदुर संघ पूर्व इलाका बिर्तामोड झापाको नेतृत्वमा विभिन्न मजदुर संगठनहरुको सहभागिता रहेको थियो । मजदुर दिवसको अवसर पारेर बिर्तामोडमा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो ।
सयौंको संख्यामा उपस्थित मजदुरहरुले बिर्तामोड परिक्रमा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङ, नेकपा (माओवादी केन्द्र) का १ नम्वर प्रदेश उपाध्यक्ष शिवकुमार डाँगी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटाले मजदुरका हक हित र अधिकारका लागि संगठित भएर आवाज उठाउनु पर्ने बताएका थिए । सोही कार्यक्रमकाबीच बेपत्ता परिवारका सदस्य खुशी धिमाललाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पार्टीका झापा संयोजक राजु आचार्य (अग्नी), बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, विर्तामोड नगर सचिव जगन्नाथ भट्टराई, वाईसीएल प्रदेश नम्वर १ का अध्यक्ष कुमार आचार्य लगायतको आतिथ्य रहेको थियो । अखिल नेपाल ढुवानी मजदुर संघका पूर्व इलाका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कोण सभामा सहभागीहरुलाई अखिल नेपाल ढुवानी मजदुर संघका संस्थापक गणेश भुसालले स्वागत गरेका थिए । कार्यक्रम संचालन ट्रेड युनियन महासंघकी उप–महासचिव सीता सापकोटा सन्ध्याले गरेकी थिइन् ।