कोशी प्रदेशमा लगानीको उपयुक्त वातावरण : प्रधानमन्त्री
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा लगानीको उपयुक्त वातावरण भएको दाबी गरेका छन् । विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनमा लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले यातायातको सञ्जाल भएको, समुन्द्रसँगको छोटो दुरी रहनु, विद्युत्को समस्या नहुनु, शान्ति सुरक्षा मजबुत अवस्थामा रहेको भन्दै लगानीको उपयुक्त समय भएको दाबी गरे ।
उनले नडुब्ने खालको उद्यमशीलतामा जोड दिन युवा वर्गलाई आग्रह गरे । ‘नेपालमा उपयुक्त लगानीको वातावरण छ । लगानीकर्ता, मजदुर र सरकारबिच कुनै मनमुटाब छैन,’ ओलीले भने, ‘नेपालमा श्रमिक, रोजगारदाता र सरकारकाबीचमा भएका सहमति अनुसार आइएलओको सिद्धान्त प्रभावकारी कार्यान्वयन गरिएको छ ।’
उनले नेपालमा लगानीका लागि ढुक्कको वातावरण रहेको पनि बताए । ‘एउटा ढुक्कको वातावरण छ । त्यसो भएर अनुकूल वातावरण भएको हिसाबले पनि लगानीकर्ताले ढुक्कले लगानी गर्न सक्नुहुन्छ,’ उनले भने । कोशी प्रदेशमा यातायातको पूर्वाधार राम्रो बनिरहेको बताउँदै उनले लगानीकर्ताले सामान बजार पठाउने बेलासम्ममा सबै सडक पूर्वाधारहरू बनिसक्ने बताए ।
उनले उद्योगीले चाहेको कच्चा पदार्थ जहाँ चाहियो त्यहाँसम्म पुर्याउन सक्ने व्यवस्था रहेको, हवाई मैदान राती पनि उड्नसक्ने बनाएको पनि उनले बताए । ‘बिजुली गाउँभरि पुगेको छ । त्यसकारण लगानीका लागि उपर्युक्त वातावरण छ । अब छिट्टै हामी नदीको बाटोबाट सामान र मानिसहरूको आवागमन सुरु गर्न सक्छौँ । कलकत्तासम्मका लागि । छिटो र सस्तो लागतमा ल्याउन सकिन्छ । हनुमान नगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै हामी ल्याउन सक्छौँ । हामी कुरा गरिरहेका छौँ । बिचमा केही ढिलासुस्ती भयो । अब हामी गर्दैछौं । यो अर्को लगानीको लागि अनुकूल वातावरण हो,’ प्रधानमन्त्रीले भने ।
कलकत्ता पोर्ट नजिकै रहेको, भारतमा करोडौँ जनसङ्ख्या रहेको कारण कोशी प्रदेश लगानीको सम्भावना भएको क्षेत्र भएको उनले दाबी गरे । उनले संघीय सरकारले अध्यादेशमार्फत ऐन ल्याएर लगानीको वातावरण बनाएको कारण अप्ठ्यारो नभएको बताए । छिमेकी मुलुक भारततिर लक्षित गर्दै उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गरे छिमेकी पनि लाभान्वित हुनसक्ने बताए । जडीबुटी कारखाना प्रशस्त चल्ने उनले बताए ।