को हुन् जिल्ला सहकारी संघका सचिव पदका उम्मेदवार दंगाल ?
विसं. २०३६ सालमा ओमनाथ र कौशिलादेविको कोखबाट जन्मिएका भवानी प्रसाद दंगाल (भानु) हल्दिबारी–५ का स्थायीबासी हुन् । दंगालले साविक जलथलको मोती निमाविमा कक्षा ७ सम्मको अध्ययन गरे र हल्दिबारी माविबाट एसएलसी उत्तीर्ण गरे । मेची क्याम्पस भद्रपुरबाट अंग्रेजी र अर्थशास्त्र बिषयमा प्रविणता प्रमाण पत्र तह पूरा गरेका दंगालले स्नातक तह दमक क्याम्पसबाट पूरा गरेका हुन् । उनले महेन्द्र क्याम्पस धरानबाट अंग्रेजी बिषयमा स्नातकोत्तर तह पूरा गरेका छन् ।
सामाजिक तथा राजनितिक क्षेत्रमा क्रियाशिल दंगाल २०६५ सालदेखि सहकारी अभियानमा जोडिएका हुन् । उनले २०६८ सालसम्म कर्णाली साकोस बिर्तामोडको सचिवको रुपमा काम गरे । २०६९ यता प्रदेश १ कै ठूलो संस्थाको रुपमा स्थापित हाम्रो नेपाल साकोसको नेतृत्वमा रहेका काम गरिरहेका छन् । हाम्रो नेपाल कोशी प्रदेशमा छैठौँ ठूलो सहकारी संस्थामा पर्दछ ।
संस्थागत रुपमा दंगालको सामाजिक सहभागिता हेर्ने हो भने २०७४ सालमा उनी झापा जिल्ला सहकारी संघको सह–सचिव बने भने २०७८ सालदेखि झापा जिल्ला सहकारी संघ र २०७९ सालदेखि प्रदेश सहकारी संघको सचिवको रुपमा २०८१ सालको अन्त्यसम्म निरन्तर क्रियाशिल रहे ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई नजिकबाट बुझेका दंगाल सहकारी अभियानलाई अबको दिनमा कसरी अगाडी बढाउने बिषयमा स्पष्ट दृष्टिकोण आफुसँग रहेको बताउँछन् । सहकारी सम्बन्धि विभिन्न तालिम, गोष्ठी, कार्यशाला आदि सञ्चालन गरेका दंगाल अघिल्लो कार्यकालमा पूरा गर्न बाँकी काम सम्पन्न गर्न सचिव पदमा पुनः उम्मेदवारी दिएको र आफु दर्बिलो उम्मेदवार भएको बताउँछन् ।
सुदृढ र व्यावसायिक संघको विकास, सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व, सहकारी संस्था र संघको प्रवद्र्धन, वित्तीय सवलता, व्यावसायिक संघ र संस्थाको सुरक्षा–प्रवद्र्धन गरी छ वटा बुँदे कार्ययोजनाका साथ आफू चुनावी मैदानमा उत्रिएको सचिवका प्रत्यासी दंगाल बताउनुहुन्छ ।
आगामी कार्यकालका लागि उनले ६ बुँदे एजेण्डा अघि सारेका छन् । ‘सहकारी अभियान अहिले संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ,’ उनी भन्छन्, ‘सहकारीका संकटमोचन गरेर सहकारी अभियानलाई सफल बनाउन जरुरी छ ।’
लामो सयमदेखि सहकारी अभियानमा आबद्ध दंगाल सरकारको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा रहेको सहकारीलाई सुदृढ र सबल बनाउन सके मात्र मुलुकले हासिल गर्न खोजेको समृद्धि प्राप्त हुने धारणा राख्छन् ।
सहकारी क्षेत्रमा हाल देखिएका समस्या भित्री बाहिरी दुवै रुपमा रहेको उनको भनाइ छ । ‘भ्रमपूर्ण अफवाह र सहकारीभित्रै भएका केही कमिकमजोरीले सहकारी अभियान ‘आउट अफ ट्रयाक’ भएको छ । संघमार्फत् यसलाई सही ट्रयाकमा ल्याउन सकिन्छ,’ उनले भने, ‘म लामो समयदेखि सहकारी अभियानलाई सशक्त बनाउन लागिपरेको छु, त्यसैले पनि मैले संघको सचिव पदमा उम्मेदवारी दिएको हुँ ।’
यस्ता छन् उनका ६ बुँदे एजेण्डा
- सुदृढ व्यवसायीक संघको विकास
- सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व
- सहकारी संस्था र संघको प्रबद्र्धन
- वित्तीय सवलता
- व्यवसायीक संघ
- संस्थाको सुरक्षा र प्रबद्र्धन
माथिका एजेण्डा अघि सार्दै दंगालले आम मतदातालाई अमुल्य मत दिइ विजयी गराइदिन आग्रह र अनुरोध गरेका छन् ।