२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ परेका भुटानी शरणार्थीलाई अमेरिका जानु अघिको अवस्थामा राख्न अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख ११ गते , विहीबार
पक्राउ परेका भुटानी शरणार्थीलाई अमेरिका जानु अघिको अवस्थामा राख्न अदालतको आदेश

झापा । अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आएलगत्तै पक्राउ परेका ४ जना भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार उनीहरुलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको हो ।
प्रहरीले चैत १६ गते ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र चैत १८ गते ३० वर्षीय अशोक गुरुङलाई पक्राउ गरेको थियो। काँकडभिट्टा नाकाबाट प्रवेश गरेका सुवेदी, तामाङ र दर्जी दमक नगरपालिका–३ बेलडाँगी शिविरबाट पक्राउ परेका थिए भने गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–४ स्थित मिलनटुङ सीमा नाकाबाट लुकीछिपी पैदल छिरिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका चारै जना करिव एक महिनादेखि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा छन्।
अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि झापाको शरणार्थी शिविरमा रहेका उनीहरुलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थान हद तोकेर राख्न र ६० दिन भित्र अनुसन्धान कार्य सम्पन्न गर्न अदालतले आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह–रजिष्ट्रार अच्युत कुईकेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अदालतको आदेशपछि अब प्रहरीले उनीहरुलाई थुनामुक्त गर्नेछ ।
अशोक गुरुङ समेत गरेर ४ जनाको तर्फबाट नारायणकुमार सुवेदीले गृह मन्त्रालयलाई प्रतिवादी बनाएर यहि बैशाख ३ मा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

सम्बन्धित समाचार