पाथीभरा जाँदै गरेको जीप दुर्घटना, दुई झापालीसहित ४ जनाको मृत्यु
झापा । ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन् ।
आज बिहान यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे१ज ३०११ नम्वरको जीप फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउ सेवारो चोकमा दुर्घटनामा परेको थियो । बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर १० की वर्ष १६ की आध्या आचार्य, झापा भद्रपुर १५ का वर्ष ६९ की सरिता पौडेल, वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ६ जना रहेको र अन्य घाईते ललितपुर १० की वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाईते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाईएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।