४८ लाखको मोबाइलको चार्जर तथा इयरफोन बरामद
बिर्तामोड । प्रहरीले झापाका अलग अलग स्थानबाट करिब ४८ लाख मुल्य बराबरका मोबाइलको चार्जर तथा इयरफोन बरामद गरेको छ । भन्सार छली गरी ल्याउँदै गरेको सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
शनिबार साँझ करिब ८ बजे भद्रपुर नगरपालिका वडा नम्बर ९ स्थित घोडामारा चोकमा प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा १८ च ४६१६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २९ कार्टुन मोबाइल फोनको पाट्र्सहरु बरामद गरेको हो । प्रहरीले करिब २९ लाख ८७ हजार दुई सय मुल्यका ती सामान र अन्दाजी पाँच लाख बराबरको गाडी सहित चालक भद्रपुर नगरपालिका वडा नम्बर ५ वस्ने २३ बर्षीय राहुल कामतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यस्तै शनिबार साँझ ८ः५० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार दुई सय पचास रुपौया बराबरको बिभिन्न कम्पनीको मोबाइलमा प्रयोग हुने सामानहरु फेला पारेको डीएसपी खड्काले जानकारी दिए । बरामद सामान तथा मानिस आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको उनले बताए ।