सैनिक पोष्टमा गोली लागेर सिपाहीको मृत्यु
झापा । चितवन राष्ट्रिय निकुञ्जको सैनिक सुरक्षा पोष्टमा शुक्रबार बिहान गोली लागेका नेपाली सेनाका एक जना सिपाहीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनावश गोली चलेको निकुञ्ज र सैनिक अधिकारीले जनाएका छन् । घटना बिहान ९ बजेतिर भएको थियो ।
तिघ्रामा गोली लागेका सिपाही चन्द्रकिशोर दास थारूको उपचारका क्रममा दिउँसो चार बजेतिर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
निकुञ्जको भरतपुर महानगरपालिका–१८ सेतिदेवी सामुदायिक वनमा रहेको नेपाली सेनामा नयाँ गोरख गणको पोष्टमा उक्त घटना भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताए ।
नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले गस्ती गएर फर्केपछि हतियार राख्ने क्रममा दुर्घटना भएको बताए । ‘गस्तीपछि लोडिङ गनको गोली म्यागजिन झिक्ने बेलामा दुर्घटना भएको हो,’ सूचना अधिकारी केसीले भने ।