२०८३ बैशाख १९ गते , शनिबार

रास्वापा नेतृ ज्वाला संग्रौला बिरुद्द अवहेलना मुद्दा दर्ता

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २८ गते , विहीबार
रास्वापा नेतृ ज्वाला संग्रौला बिरुद्द अवहेलना मुद्दा दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका सङ्ग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । काठमाण्डौ खुला विश्वविद्यालयमा एलएलबी प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार सङ्ग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । 
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् । 
'न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्‍या छ,' आदेश आएको केही बेरमै उनले लेखेकी छन् । त्यसयता सङ्ग्रौलाले पटक–पटक स्ट्याटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी छन् । 
अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले अवहेलना मुद्दा दायर गरेका हुन् । 
सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ । 
अदालत कसैप्रति भयभीत र पूर्वाग्रही नहुने भन्दै केसीले सङ्ग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग गरेका छन् । 
सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिँदै आएकी सङ्ग्रौला पछिल्लो समय रास्वपाको केन्द्रीय सदस्यका रुपमा पार्टीका गतिविधिमा आबद्ध छिन् । उनी यसअघि पनि अभद्र व्यवहार पक्राउ परी धरौटीमा छुटेकी थिइन् ।

सम्बन्धित समाचार