त्रासको वातावरण रहेसम्म काम गर्न सक्दैनौँ : लेखापढी व्यवसायी
बिर्तामोड । यातायात व्यवस्था कार्यालय परिसरमा काम गर्दै आएका मेची लेखापढी व्यवसायीले त्रासको वातावरण रहेसम्म काम नगर्ने बताएका छन् । आज पत्रकार सम्मेलन गरी उनीहरुले व्यवसायीमाथि सिर्जना गरिएको त्रासको वातावरण नहटेसम्म काम नगर्ने जनाएका हुन् ।
सम्बन्धित निकायबाट इजाजत प्राप्त गरी काम गरिरहेको अवस्थामा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै उनीहरुले दुई दिनदेखि सेवा सञ्चालन गरेका छैनन् । लेखापढी व्यवसायीले सटर बन्द गरेर बसेपछि यातायात कार्यालयमा आएका सेवाग्राही अन्योलमा पर्नुका साथै हैरानी व्यहोर्न बाध्य भएका थिए । आफैले काम गर्ने मेसो नपाउँदा उनीहरुले फर्म भर्ने लगायतमा त्रुटि गर्नुका साथै एक एक सेवाग्राही लाइनमा बस्नुपर्दा भिडभाडसमेत बढेको थियो ।
यातायातका बिचौलियाका कारण सेवाग्राहीले हैरानी व्यहोर्नु परेको, अनाधिकृत व्यक्तिले कर तिरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने तर कर दाखिला नगर्ने गरेको आदि गुनासोका आधारमा चैत्र २२ गते प्रहरीले यातायात व्यवस्था कार्यालयबाट ९ जना सेवाग्राहीलाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्यादथप गरी अनुसन्धान अगाडी बढाएपछि लेखापढी व्यवसायीहरु त्रसित बनेका हुन् ।
अनाधिकृत व्यक्तिले गरेको दोषीको भागिदार आफुहरुलाई नबनाउन उनीहरुले पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् । ‘अनाधिकृत व्यक्तिले गरेको अपराधलाई हाम्रो संस्था तथा सदस्यहरुसँग जोडी अनावश्यक दोषारोपण हुनुले मर्यादित व्यवसाय गर्दै आएका व्यवसायीमाथि आघात पुगेको छ,’ प्रेस नोटमा उल्लेख गरिएको छ, ‘कानुनको सर्वोच्चता ‘दोषी नछुटोस, निर्दोष नफसोस्’ भन्ने मान्यतालाई समेत ध्यानमा राखि निर्दोष लेखापढी व्यवसायी, सरकारी राजश्व दाखिलाका लागि लाइनमा बसेका सहयोगी लगायतलाई रिहा गरि यस किसिमको धरपकडका श्रृङ्खला बन्द गरियोस भनि जोडदार माग गर्दछौँ ।’
कुनैपनि सेवाग्राहीलाई जबर्जस्ती कार्य नगरेको र कसैले करकापमा कार्य गरेको भनि उजुरी गरे त्यस्ता सदस्यलाई कारबाही गर्न संघ तयार रहेकोसमेत प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै संघका सचिव इश्वर सुवेदीले लेखापढी व्यवसायी अदालतबाट इजाजत प्राप्त गरी कार्य गर्ने व्यक्ति भएकाले बिचौलिया, दलाल जस्ता उपमा दिनु निन्दनीय र अपमानजनक भएको भन्दै त्यस्ता शब्दावली प्रयोग नगरिदिन आग्रहसमेत गरे ।
लेखापढी व्यवसायीहरु सागर तिवारी र केदारकुमार श्रेष्ठले लेखापढी व्यवसायीका कारण सेवाग्राहीको काम छिटो छरितो हुने, काममा त्रुटी नहुने र सेवाग्राहीले झण्झट व्यहोर्नु नपर्ने जिकिर गरे ।
संघका अध्यक्ष युवराज निरौला (कमल)को अध्यक्षमा भएको कार्यक्रम सचिव सुवेदीले सहजीकरण गरेका थिए ।
व्यवसायीहरुलाई ठगी गर्ने विशाल भण्डारी लेखापढी व्यवसायी नभएको र सम्पर्कमा रहेको अवस्थामा प्रहरीले पक्राउ नगरेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नसमेत उनीहरुले माग गरेका छन् । भण्डारीले सेवाग्राहीबाट रकम असुलेर कर नतिरिदिएको, फर्जी बिल भपाई दिएको, सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै सेवाग्राहीले उजुरी गरेपछि प्रशासनले व्यवसायीलाई पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलन भइरहेको समय यातायात कार्यालय परिसरमा भेटिएका गौरीगञ्जका उज्वल बस्नेत बिहान ९ बजे आएको भएपनि ४ बजेसम्म काम नभएको भन्दै रोस प्रकट गर्दै थिए । दमकमा कलेज छुट्टी भएर कलेजकै ड्रेसमा आएका उनले राज्यलाई कर तिर्नपनि यति सास्ती व्यहोर्नु परेको भन्दै गुनासो गरे । लेखापढी व्यवसायी हुँदा सामान्य शुल्क तिर्दा काम छिटो हुने र सास्ती व्यहोर्नु नपर्ने उनको भनाई थियो ।
यातायात व्यवस्था कार्यालय परिसरमा ७६ जना लेखापढी व्यवसायीले काम गर्दै आएको संघले जनाएको छ ।