१५० ग्राम लागूऔषधसहित भारतीय कारोबारी पक्राउ
बिर्तामोड । प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित एक भारतीय कारोबारीलाई पक्राउ गरेको छ । भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला मञ्जयाजोत खोरीबारी थाना बस्ने ४१ वर्षीय राजेन बर्मनलाई १५० ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
आज दिउँसो ४ बजे भारतको पानीट्याङ्कीको शिव मन्दिर हुँदै मेची खोलाको बाटो गरी नेपालतर्फ लागूऔषध भित्र्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बर्मनलाई पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भान्सा खोलामा भारतबाट नेपालतर्फ आउँदै गर्दा बर्मनलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकसहित १५० ग्राम ९८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापा जिल्ला अदालतमा उपस्थित गराई ५ म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।