राप्रपाको प्रदर्शन निगरानी गर्न दुई हजार प्रहरी परिचालन
सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी गरिने
झापा । चैत्र १५ गते राजावादीहरुको तीनकुनेमा भएको प्रदर्शनबाट झस्किएको प्रहरीले आज हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यक्रममा उच्च सुरक्षा सतर्कता अपनाएको छ । व्यवस्थाको विरुद्ध राप्रपाले बल्खुमा गर्न लागेको कार्यक्रम शान्तिपूर्ण बनाउन सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन् ।
संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले आज काठमाण्डौमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ ।
राप्रपाको आजको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।
सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आवश्यकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने ।
यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।
१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।