२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ परेका व्यवसायीको रिहाइको माग गर्दै लेखापढी व्यवसायीद्वारा सिडिओलाई ज्ञापनपत्र

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २५ गते , सोमबार
पक्राउ परेका व्यवसायीको रिहाइको माग गर्दै लेखापढी व्यवसायीद्वारा सिडिओलाई ज्ञापनपत्र

बिर्तामोड । मेची लेखापढी व्यवसायी सङ्घले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । चैत्र २२ गते यातायात व्यवस्था कार्यालय झापा परिसरबाट पक्राउ परेका लेखापढी व्यवसायीहरूको रिहाइको माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
संघका अध्यक्ष युवराज निरौला (कमल) को अगुवाईमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । जिल्ला अदालतबाट प्रमाणपत्र प्राप्त गरी काम गरिरहेका लेखापढी व्यवसायीहरू प्रहरीद्वारा आतंकित भएको भन्दै उनीहरूले आफ्नो काम कर्तव्य र अधिकार स्पष्ट गरिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
'मिति २०८१/१२/२२ गते शुक्रबार बिहानको ११-१२ बजेको समयमा लेखापढी र लेखापढीका सहयोगी तथा सोरुम व्यावसायी तथा सहयोगीको रुपमा काम गर्ने ९ जना व्यक्तिहरुलाई नेपाल प्रहरीले गिरफ्‌तार गरे पश्चात उक्त क्षेत्रमा त्रासको वातावरण सृजना भएको छ । तत्पश्चात इलाका प्रहरी कार्यालय विर्तामोडमा उक्त पक्राउ परेका व्यक्तिहरुको विषयमा बुझ्‌दा यो सुरुवात मात्र हो अरु धेरैको नाम आएको छ भन्ने कुरा आएकोले सेवा सञ्चालन गर्न हामी लेखापढी व्यवसायी थप अप्ठ्यारोमा परेका छौं। अदालतबाट लाईसेन्स प्राप्त लेखापढी व्यवसाय डर त्रासको विचमा सञ्चालन गर्न अप्ठ्यारो भएकोले हामी लाईसेन्स प्राप्त लेखापढी व्यवसायीले गर्न पाउने काम, कर्तव्य, अधिकारका बारेमा प्रष्टसंग जानकारी यस कार्यालयबाट प्राप्त होस भन्ने अपेक्षा राखेका छौं, ज्ञापन पत्रमा उल्लेख छ ।  उनीहरुले आफ्नो पेशा व्यावसाय, इमान्दारिताका साथ सेवा प्रदान गर्ने जानकारी गराउँदै पक्राउ परेका ९ जना लेखापढी र लेखापढीका सहयोगी तथा सोरुम व्यावसायी तथा सहयोगीहरुलाई रिहाईको मागसमेत गरेका छन् ।
यातायात व्यवस्था कार्यालयमा बिचौलियाका कारण सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको भन्ने गुनासोको आधारमा प्रहरीले चैत्र २२ गते बिर्तामोड-१ बस्ने वर्ष २७ का सुरज आचार्य, बिर्तामोड-१ बस्ने बर्ष ४२ का तुलसी खतिवडा, कनकाई-१ बस्ने बर्ष २० का दिवस राई, बिर्तामोड-५ बस्ने बर्ष ४३ का रामप्रसाद ढकाल, बिर्तामोड-१ बस्ने बर्ष २४ की गरिमा घिमिरे, बिर्तामोड-१ बस्ने बर्ष ५२ की सीता भेटवाल, बिर्तामोड-१ बस्ने बर्ष २९ का रोशन आचार्य, बिर्तामोड-३ बस्ने बर्ष २६ का युवराज लिम्बू र बिर्तामोड-२ बस्ने बर्ष २४ का टंकप्रसाद राजवंशी लाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
प्रहरीले अन्धाधुन्ध लेखापढी व्यवसायी र सहयोगीहरू पक्राउ गरेको विरोधमा आज सोमबार लेखापढी व्यवसायीहरूले आफ्नो काम ठप्प पारेका थिए ।






सम्बन्धित समाचार